काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौं आएको छ। महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौं आएको हो।
महानगरपालिका प्रमुख दाहालका अनुसार टोलीले आज प्रधानमन्त्री, अर्थमन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्यसचिव, मन्त्रालयका सचिवहरूलाई भेटेर रंगशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ। महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भुक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिइन्।
धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ। संघस्य सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन।
महानगर प्रमुख दाहालले भनिन्, ‘हामी यथासक्य छिटो भुक्तानी गर्न चाहन्छौँ। प्रक्रियामा सहजीकरण गरिदिनुपर्यो।’
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानुनका कारण असहज भएको बताए।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संघीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए। सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छ्ट्युाएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनअनुसार मात्र खर्च गर्न मिल्ने उनले बताए।
उनले सो बजेट अनुदानका रुपमा प्राप्त नगरेकाले भुक्तानीमा नीतिगत अन्योल भएको बताए। उनले भने, ‘फाउण्डेशन मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा भ्याट तिर्नुपर्ने भएकाले यो विषय अड्किएको हो।’
महानगरकै आग्रहमा फाउण्डेशनले रंगशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो। फाउण्डेशनले छोडेपछि वि.सं. २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच मिलेर रंगशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो। सो सहमतिपछि संघीय सरकारले यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।
फाउण्डेशनले हस्तान्तरण गरेको निर्माण महानगरले वि.सं. २०८१ को असारदेखि अगाडि बढाइसकेको छ। हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। फाउण्डेशनले ५७ करोड १२ लाख रुपैयाँबराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ। जसमध्ये १८ करोड ४३ लाख रुपैयाँ उधारो रहेको जनाइएको छ।
फाउण्डेशनले वि.सं. २०७५ माघ १६ मा काठमाडौंमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो। त्यसलगत्तै फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणको सम्झौता भएको थियो। जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रंगशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउण्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ। रासस
