बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर- भोजपुरको अरुण गाउँपालिका-६, लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ। 

कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।

स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङले जानकारी दिए। अन्य क्रसर उद्योगहरू अनुगमन भइरहेको उनको भनाइ छ।

‘हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ,’ प्रमुख थुलुङले भने, ‘कानूनविपरीत रहेका क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ। अनुगमनका क्रममा अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ।’ 

यो क्रसर उद्योगले अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए। आवश्यक कानूनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनका लागि रोक लगाइएको उनको भनाइ छ।

अवैध रूपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाइएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनका लागि दबाब दिइरहेको उनले बताए।

‘राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन,’ उनले भने, ‘सबै क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउनको लागि आवश्यक कदम अघि बढाएका छौँ।’ 

जिल्ला अनुगमन समितिले उक्त क्रसर उद्योग नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ।  

पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दूरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानूनी प्रावधन रहे पनि यो उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ।  

हाल यो क्रसर यो उद्योग लेगुवा-भोजपुर राजमार्गको पक्की  पुलदेखि करिब ३०० मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दूरीमा सञ्चालनमा छ। बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान छ। क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको रामबजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ। 

मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा वि.स. २०७२ को माघ महिनादेखि अवैध रूपमा क्रसर उद्योग सञ्चालनमा छ। रासस

 


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१०:११
  • सम्बन्धित विषय:

  • # अरुण नदी
  • # क्रसर उद्योग
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend