काठमाडौं- हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक स्तरोन्नति आयोजना निर्माणमा लम्बिएको ढिलाइपछि ठेक्का अन्ततः रद्द गरिएको छ। सडक विभाग मातहत हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि, हेटौंडासँगको ठेक्का मंगलबार औपचारिक रूपमा तोडिएको सार्वजनिक सूचना जारी गरेको हो।
२०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँ (करसहित) मा तीन वर्षभित्र सडक स्तरोन्नति सम्पन्न गर्ने सहमतिसहित ठेक्का सम्झौता भएको थियो। तर निर्माणको प्रगति चार वर्षपछि पनि २५ प्रतिशतमै सीमित भएको कार्यालयले जनाएको छ। सडकको केही भाग ४ लेन र केही भाग ६ लेनमा स्तरोन्नति गर्ने सम्झौता भए पनि साइटमा काम लामो समयदेखि ठप्प रहेको बताइएको छ।
ठेक्का सम्झौतामा दुई पटक म्याद थपिएको थियो। अन्तिम पटक थपिएको अवधि गत जेठमा सकिएको योजना कार्यालयले जनाएको छ। पटक–पटक ताकेता गर्दा काम नबढेको र ठेकेदारले प्रतिबद्धताअनुसार कार्य नगरेकाले ठेक्का रद्द गरिएको योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए।
ठेक्का रद्दसँगै निर्माण कम्पनीको कार्य सम्पादन जमानत ४ करोड १९ लाख रुपैयाँ तथा पेश्कीका रूपमा लिइएको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकसमक्ष पत्राचार भइसकेको कार्यालयले जनाएको छ। पेश्की रकम १० प्रतिशत व्याजसहित असुल गरिने छ।
कार्यालयले गत साउनमै निर्माण कम्पनीलाई ‘ठेक्का किन नतोड्ने?’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको थियो। तर प्रस्तुत स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको स्पष्ट पारिएको छ। अद्यावधिक कार्यतालिका, स्रोत परिचालन योजना तथा काम छिटो पूरा गर्ने विश्वसनीय प्रतिबद्धता नदेखिएको कार्यालयको निष्कर्ष छ।
अब कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकीसरह असुल उपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
यसैबीच, हालसम्म सम्पन्न काम र बाँकी कामको नापजाँच तथा वित्तीय समायोजनका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन कम्पनीलाई आग्रह गरिएको छ । उपस्थित नभएमा कार्यालय स्वयं नापजाँच कार्य अघि बढाउने चेतावनीसहित सूचना सार्वजनिक गरिएको छ।
