मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजित भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न भएको छ।

लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजित भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न भएको छ। बौद्ध धर्ममा केन्द्रित यस महोत्सवमार्फत दुवै देशका सांस्कृतिक धरोहर, परम्परा र साझा ऐतिहासिक सम्बन्धको उत्सव मनाइएको आयोजकले जनाएका छन्।

उद्घाटन समारोह लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेद्वारा संयुक्त रूपमा सम्पन्न भयो। कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका पदाधिकारीसहितको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमा दुवै देशका कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बनेको थियो। भारतबाट आएका श्री सन्ध्या कुञ्जन मेनन दासको टोलीले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरे भने साँझको सत्रमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत धुनहरू प्रस्तुत गरेको थियो।

कार्यक्रमअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः ए कमन लिगेसी” शीर्षकको शैक्षिक गोष्ठी पनि सम्पन्न भयो। भारत र नेपालका अग्रणी बौद्धविद्हरू सहभागी उक्त गोष्ठीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न बौद्ध सम्पदाको भूमिकाबारे गहन छलफल गरेको आयोजकले जनाएको छ।

महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउन योगदान दिएको बताइएको छ।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend