मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

एनसेलमा देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत छ : सञ्चारमन्त्री खरेल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
एनसेलमा देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत छ : सञ्चारमन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल कार्यालयको अवलोकन गरेका छन्। 

मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नख्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। 

एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब ६५ करोड रुपैयाँबराबरको क्षति भएको छ।

अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका थिए। उनले एनसेलले जेनजीलाई लक्ष्य गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको उल्लेख गरे।

‘मैले उहाँहरूलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिएँ, उहाँहरूले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ, त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरूले आफ्नो योजना सुनाउनुभएको छ,’ मन्त्री खरेलले भने।

उनले एनसेलमा ठूलो क्षति भएको उल्लेख गर्दै सरकारबाट हुन सक्ने सहयोगका लागि तयार रहेको समेत बताए।

एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्ष्य गरी प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० जना विद्यार्थीलाई एक करोड रुपैयाँ राशिको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ । एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथमा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर थप गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागेको जानकारी गराइएको थियो।

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताए। ‘केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ’ उनले भने।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तर्राष्ट्रियस्तरको नभएको उल्लेख गर्दै सरकारले नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने धारणा राखे।

‘टेलिकम्युनिकेशन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ, त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ,’ उनले भने। रासस


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१५:२७
  • सम्बन्धित विषय:

  • # एनसेल
  • # जगदीश खरेल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend