बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुक बिल्डिङबाट मूल्य निर्धारण गरी आईपीओ ल्याएको ‘रिलायन्स स्पिनिङ मिल्स’ कस्तो कम्पनी हो?

मंगलबार, मंसिर २३ २०८२

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ९ सयको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो।

काठमाडाैं- वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबारबाट प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भइ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको हो। यसअघि सर्वोत्तम सिमेन्टको पनि यसै विधिमार्फत आईपीओ आएको थियो। 

रिलायन्स स्पिनिङ मिल्सले सार्वजनिक निष्कासन गर्ने जम्मा ११ लाख ५५ हजार ९ सय ६० को १० प्रतिशत अर्थात १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

विदेशमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। जसमा प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसा पर्नेछ। अब वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपछि उद्योगले सर्वसाधरणका लागि पनि आईपीओ जारी गर्ने जनाएको छ।

रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आईपीओमा सोमबार पहिलो दिनमै ५.१ गुणा बढी आवेदन परेको थियो। सोमबार १० हजार २० आवेदकको ५ लाख ८९ हजार ८ सय ५० कित्ताको आवेदन परेको हो।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २०५१ साल बैशाख २८ गते कम्पनी दर्ता गरी २०५२ भदौ १९ गतेबाट कारोबार सञ्चालनमा ल्याएको हो। यो उद्योगले आधुनिक प्रविधिका धागोहरू उत्पादन गर्ने गर्छ। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायतलगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ। उद्योगका अनुसार वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ।

कम्पनीको मूल-उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ। नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन्। पवनकुमार ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुपका अध्यक्ष र अक्षय प्रबन्ध निर्देशक हुन्।

अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो।

कम्पनीले मूल उद्योगको उत्पादन क्षमता तथा पुँजी वृद्धि सम्बन्धमा उद्योग विभागबाट २०७७ मंसिर २६ गते पुँजी तथा क्षमता अभिवृद्धि गर्ने अनुमति प्राप्त गरेको छ। संशोधित क्षमताअनुसार कम्पनीको उत्पादनलाई विविधीकरण गरी नयाँ उत्पादन वार्षिक ६ हजार ३ सय मेट्रिक टन भिस्कोज यार्न र ६ हजार ३ सय मेट्रिक टन अल्लो रहेको छ।

साथै उद्योगको वार्षिक क्षमता १६ हजार ५ सय ६० मेट्रिक टन रहेको छ भने उत्पादन क्षमता प्रतिदिन १८२ मेट्रिक टन तथा वार्षिक क्षमता ६५ हजार ५ सय २० मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी विद्युत शक्तिसमेत २३ हजार केभीए पुगेकाे छ। कम्पनीले विश्वका प्रतिष्ठित टेक्सटायल मेसिनरी म्यानुफ्याक्चर्स कम्पनीहरूले प्रयोग गर्ने उच्च प्रविधियुक्त स्पिनिङ प्लान्टबाट धागोको उत्पादन गरिरहेको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ९० करोडको ११ लाख ५५ हजार ९ सय कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन भएको हो। यसअघि ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर संस्थागत लगानीकर्ताहरूका लागि बाँडफाँट गरेको कम्पनीले अब बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ। 

कम्पनीले संकलित पुँजीलाई परिचालन तथा उद्योगको क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गरी विदेशी मुद्रा भित्र्याउने, स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी श्रम शक्तिलाई पलायन हुनबाट रोक्ने, महिलालाई रोजगारीको अवसर दिलाइ आयआर्जनमा आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्नमा मद्धत पुर्‍याउने लक्ष्य लिएको छ।

पछिल्लो ५ वर्षको वार्षिक वित्तीय विवरण विश्लेषण गर्दा कम्पनीको अवस्था बलियो देखिन्छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वित्तीय विवरण तुलना गर्दा त रिलायन्सले तीब्र आर्थिक पुनः उत्थान (भीसेप्ड रिकभरी) हासिल गरेको छ।

कम्पनीको लेखा परीक्षण गरिएको वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको देखाउँछ। आव २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको नगद सञ्चय पनि राम्रो देखिन्छ। आव २०८१/८२ मा कम्पनीको ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ कुल जगेडा कोष रहेको छ। १८ महिनाअघि मूल्यांकन स्थिर गरिएदेखि कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थपेको छ।

त्यसैगरी पुनर्मूल्यांकनसहित प्रतिसेयर नेटवर्थ पनि ४११ रुपैयाँ ११ पैसा रहेको छ। हालको आईपीओ मूल्यले प्रक्रिया रोकिएको समयमा थपिएको जगेडा कोष र नेटवर्थलाई पूर्ण रुपमा समेटेको छैन। आर्थिक वर्ष २०८१/८२ को नाफाको आधारमा आईपीओ मूल्य तय गर्दा मूल्य अझ बढ्ने भए पनि अदालतको आदेशअनुसार पुरानै प्रक्रियाले निरन्तरता पाउँदा लगानीकर्ता लाभान्वित हुने अवस्था बनेको हो।

कम्पनीले केयर रेटिङ नेपालबाट 'सिंगल ए माइनस' रेटिङ पाएको छ। रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दासमेत दायर भएको थियो। उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया अघि बढेको हो।


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend