बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र, हालसम्म ३० प्रतिशत भौतिक प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २२ २०८२
माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र, हालसम्म ३० प्रतिशत भौतिक प्रगति

म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ।

म्याग्दी- म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ। 

अपर म्याग्दी हाइइ्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीव्रता पाएको छ। आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए।

‘चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ,’ उनले भने, ‘वि.स. २०८३ फागुनभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ।’ 
कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ। 

बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। करिब दुई हप्तामा विद्युतगृहको उत्खनन कार्य सकेर संरचना निर्माणको तयारी भएको छ। वि.स. २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते काम सुरु गरेको थियो।

धवलागिरी गाउँपालिका-४, खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ। बाँध निर्माणस्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीनवटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ। 

मेकानिकल र इलेक्ट्रो-मेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भएको छ। रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ एक सय ९६ मिटर छ। आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ। 

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेण्ट सोलुशन परामर्शदाता रहेको यस आयोजनाको प्रर्वद्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ। विद्युतगृहतबाट मालिका गाउँपालिका-७, डाँडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ। 

सानीमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका-७, भारवाङमा रहनेछ। यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रीय लाइनमा जोडिनेछ। 

भारवाङबाट बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यत्रमका लागि छ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए। रासस



प्रकाशित : सोमबार, मंसिर २२ २०८२१२:३४
  • सम्बन्धित विषय:

  • # जलविद्युत
  • # माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजना
  • # माथिल्लो म्याग्दी-१
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend