काठमाडौं- नेपाल टेलिकमको फोरजी विस्तार परियोजनामा भएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्रता दिएको छ। डिजाइन र सम्झौताअनुसारको आपूर्ति र लागतअनुसारको 'एलटीई फोरजी'को गुणस्तर कायम नभएको विषयमा अख्तियारले पछिल्लो समय धमाधम बयान लिइरहेको छ।
विषयगत अनुसन्धान अधिकृत तथा टिम बनाएर यो विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको छ। अख्तियार निकट स्रोतका अनुसार छिट्टै मुद्दा लैजानेगरी काम भइरहेको छ। पहिलेको उजुरी तथा त्यसमाथि रहेर मागिएका कागजातले फोरजी परियोजनामा कैफियत देखिएपछि मुद्दा जाने करिब निश्चित भएको छ। त्यसैले बाँकी रहेका संलग्नको बयान लिने काम भइरहेको अख्तियारले जनाएको छ।
खरिदका लागि जिम्मेवार अधिकारीहरूसँगै भेन्डर पनि यो अनुसन्धानमा तानिएका छन्। नेपालको दूरसञ्चार क्षेत्रमा एकाधिकार कायम गर्न सफल हुवावे पनि यसमा अप्रत्यक्ष रुपमा तानिने छ।
हुवावेको बद्मासी र लापरबाहीका कारणले नेपाल टेलिकमको फोरजीको गुणस्तर खस्किएको विभिन्न आन्तरिक तथा नियामकीय अनुसन्धानले पनि देखाइसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरण र आन्तरिकरुपमै भएका अनुसन्धानबाट हुवावेले सम्झौताअनुसारकै न्यूनतम काम नगर्दा गुणस्तर खस्किएको पाइएको छ।
यो विषयको अनुसन्धान छल्नका लागि हुवावेले कुटनीतिक प्रभाव देखाउँदै आएको थियो।
गतवर्ष प्राधिकरणले काठमाडौंमै गरेको ड्राइभ टेष्टमा टेलिकमको फोरजीमा अपेक्षित तीव्रता नभएको पाइएको थियो। यस्तै आन्तरिक असिसमेन्टमा पनि अपेक्षति गति पाइएको थिएन। १९ अर्ब रुपैयाँ खर्चिएर विस्तार भएको फोरजीबाट सहरी क्षेत्रमै अपेक्षित गुणस्तर कायम नभएपछि खरिद तथा प्रक्रियामै प्रश्न उठेको थियो।
चौतर्फी प्रश्न उठेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसान्धानबाट आधारभूत करारीय दायित्व नै पूरा नभएको पाइएको थियो। यसमा सम्झौता गर्ने कम्पनीसँगै हुवावे पनि जोडिएको छ।
लगानी हुने तर त्यसको लाभ उपभोक्ता र कम्पनीले नपाउने, अन्तत: नोक्सानीको भारी बोकाउनेगरी फोरजी प्रक्रियामा अनियमितता भएको छ।
अख्तियारले फोरजी परियोजनाको टेन्डरदेखिकै सक्कल कागजात पहिले नै लिइसकेको थियो। दस्तावेज ताथ प्राविधिक सहायताबाट अख्तियारले डेस्क अनुसन्धान सकाएपछि अब बयानलाई सक्रिय बनाएको हो।
टेलिकम फोरजीमा लागतका हिसाबले करिब ७० करोड रुपैयाँ लाग्ने र सेवाको गुणस्तरमा मुख्य भूमिका खेल्ने एउटा कम्पोनेन्टको जडान नै भएको छैन। फोजरी तथा फाइभजी नेटवर्कको इन्टरनेट कनेक्सनलाई तीव्र पार्नका लागि आवश्यक पर्ने 'स्मल सेल' नामको उपकरण नै जडान नगरी झारा टार्ने काम भएको छ।
नेपाल टेलिकमको फोरजी विस्तारमा हुवावे मुख्य कम्पनी रहेको सीसीएसआईको मुख्य बद्मासी हो। कम्पनीले ६ हजार स्मल सेल उपकरण जडान गर्नुपर्नेगरी सम्झौता गरेको थियो। जसमा कम्पनीले ७० करोड रुपैयाँबराबरको काम नगरेको हो। जुन उपकरण जडान नहुँदा टेलिकमको फोरजी सेवाको गुणस्तर नै खस्किएको छ।
सम्झौतामा फोरजी पूर्वाधार तथा अन्य काम सकिएपछि कभरेज क्षमताको अध्ययन गरी स्मल सेल जडान गर्नुपर्ने विषय थियो। टेन्डर गर्दा नै ६ हजारको हाराहारीमा स्मल सेल जडान गर्नुपर्ने अवस्था रहेको प्रारम्भिक अध्ययनबाट देखाएपछि सोहीअनुसार सम्झौता भएको थियो।
टेलिकमले फोरजीका लागि तीन ब्यान्डबाट फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ। न्यून रेन्जमा ८ सय, मध्यममा १८ सय र २३ सय मेघाहर्ज ब्यान्डमा उपयोग गरिरहेको छ। ८, १८ र २३ सबै मध्यम रेन्जकै ब्यान्ड भएपनि सहरी क्षेत्रमा विशेषगरी माथिल्लो रेन्जको ब्यान्डका लागि फोरजीको कभरेजमा सुधार गर्नका लागि स्मलसेल जडान गर्नुपर्ने थियो। सोहीअनुसारको सम्झौता पनि भएको थियो।
उच्च रेन्जको फ्रिक्वेन्सीको न्यून कभरेज हुन्छ भने न्यून रेन्जकै फ्रिक्वेन्सीको पनि अन्डरग्राउन्ड तथा गहिरो ठाउँमा त्यति राम्रो कभरेज हुँदैन। धेरै जनघनत्व हुने ठाउँमा कभरेजमा सुधार गर्नका लागि स्मल सेल जडान गर्नुपर्ने सम्झौता भएको थियो।
यो परियोजनामा सम्झौताविपरीतको काम गरेर हुवावेले गुणस्तर खस्काउने काम गरेको छ। सम्झौतामा अमेरिका, क्यानडा, युरोप, फिनल्यान्ड र अस्ट्रेलियामा बनेको उपकरण प्रयोग गर्ने उल्लेख भए पनि एन्टेना अमेरिका तथा युरोपमा नपाइएको बहाना झिक्दै हुवावेले चिनियाँ एन्टेना प्रयोग गरेको थियो। सम्झौताभन्दा बाहिर गएर जडान भएका उपकरणको विषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।
यी सबै कारणले गर्दा अपेक्षित गुणस्तर कायम हुन नसकेको टेलिकमकै अधिकारीहरू बताउँछन्।
नेपाली बजारमा फोरजीको गुणस्तर सीमित हुनुका पछाडि भेन्डरका रुपमा हुवावेको पनि कमजोरी देखिएको भन्दै दूरसञ्चार प्राधिकरणले नियामकीय नोट निकाल्ने चेतावनी दिएको थियो। प्राधिकरणकै अनुसन्धान तथा उपभोक्ताको अनुभवमा टेलिकमको फोरजीको प्रदर्शन कमसल पाइएपछि कम्पनीसँगै भेन्डरलाई पनि सचेत गराएको थियो।
कमसल सेवाका पछाडि चिनियाँ कम्पनी हुवावेको हात रहेको छ। फोरजी परियोजनाको अधिकांश उपकरण आपूर्ति तथा जडानको जिम्मा हङकङको कम्पनी 'सीसीएसआई'मार्फत लिएको हुवावेले पटकपटक सम्झौता उल्लंघन गर्दै कमसल उपकरण राखेको छ।
प्रविधिको गुणस्तर सुधार तथा दिगोपनका लागि के र कस्तो प्रविधि तथा उपकरण राख्ने भनेर तय भएको मापदण्ड र सोहीअनुसार भएको सम्झौता उल्लंघन गर्दै हुवावेले गुणस्तर कमजोर पार्दै आएको छ।
विस्मृतिमा गएको फोरजी काण्ड, त्यही मार्गबाट नेपाल टेलिकममा बिलिङको ठेक्का हत्याउँदै हुवावे
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी, सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै