मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्छौँ : अर्थमन्त्री खनाल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
आर्थिक प्रगतिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्छौँ : अर्थमन्त्री खनाल

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले देशको आर्थिक प्रगतिका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रको सम्पत्ति नेपाली जनताको सम्पत्ति भएको भन्दै निजी क्षेत्रमाथिको आक्रमण गलत रहेको बताए। 

अर्थमन्त्री खनालले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। उनीहरूमाथिको आक्रमण ठीक होइन। निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्छ।’

सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट हुने गरेका अनावश्यक टीकाटिप्पणीका कारण समाज र राष्ट्रलाई सेवा गरौँ भन्ने असल व्यक्ति एवम् सङ्घसस्थाहरू हतोत्साही हुने गरेको उल्लेख गर्दै उनले भने, ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ। विधि ठीक भएन भने सुधार गर्न सकिन्छ तर उद्यमीमाथि गलत कदम चालियो भने अर्थतन्त्रमा नकारात्मक असर पर्छ, सदैव देश र जनताका पक्षमा काम गरौँ।’

उनले अन्तर्राष्ट्रिय जगतले नेपालको आर्थिक विकासप्रति राम्रो मूल्याङ्कन गरिरहेको जानकारी दिए। 

फरक प्रसङ्गमा उनले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा नै प्रतिनिधिसभाको आगामी निर्वाचन हुने बताए। विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताए।  

उनले तोकिएको समयमै निर्वाचन सम्पन्न नभएमा देश अनिश्चय तथा अस्थिरताको दिशातर्फ जान सक्ने उल्लेख गर्दै सुरक्षित एवम् भयरहित वातावरणबीच आमजनताको उल्लेखनीय सहभागितासहित निष्पक्ष चुनाव गराउन सरोकारवाता पक्षसँग छलफल भइरहेको जानकारी दिए।

मन्त्री खनालले राज्यका शत्तिशाली व्यक्तिहरूबाटै भ्रष्टाचार बढेपछि भएको जेन जी आन्दोलनको भावनालाई समेटेर सुशासन तथा सेवाप्रवाह पारदर्शी बनाउन सरकार क्रियाशील रहेको बताए।


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१६:००
  • सम्बन्धित विषय:

  • # रामेश्वर खनाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend