काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ। अख्तियारले ८ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै ५५ जनालाई विपक्षी बनाउँदै विशेष अदालतमा मुद्दा लगेको छ।
यसअघि संसदीय विशेष समितिले गरेको अध्ययन, महालेखा परीक्षकको कार्यालयको कैफियतका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारले पाँच पूर्वमन्त्री, विभिन्न कर्मचारी र एक कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा लगेको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भएको हो। चीनसँगको सम्झौताअनुसार ऋण तथा निर्माण कम्पनी पनि चीनकै भएर विमानस्थल निर्माण भएको थियो। एउटै कम्पनीले लागत अनुमान तथा उही कम्पनीले निर्माणको जिम्मा पाएको थियो।
सुरूमा १० अर्बमा निर्माण हुने अनुमान गरिएपनि पछि त्यसलाई २२ अर्ब पुर्याइएको थियो। निर्माणबाहेक जग्गा अधिग्रहणलगायतका लागत जोड्दा विमानस्थलको लागत अझ धेरै रहेको छ।
यी विषयमा अख्तियारले अनुसन्धान गरेको थियो। लागत वृद्धि तथा गलत अभ्यासबाट मुलुकलाई नोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दर्ता गराएको हो।
चीनले बीआरआईअन्तर्गतको परियोजनाका रुपमा पोखरालाई चित्रण गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा यसअघि लेखा समितले प्रतिवेदन तयार पार्दा चिनियाँ दूतावासले सार्वजनिक प्रतिवाद गरेको थियो।