बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कडा दबाबबीच अर्थतन्त्रमा भारतको उल्लेख्य सुधार

सोमबार, मंसिर २२ २०८२
कडा दबाबबीच अर्थतन्त्रमा भारतको उल्लेख्य सुधार

हालसम्म पनि अधिकांश ठूला अर्थव्यवस्थाहरू ‘कोरोना प्यान्डेमिक’को असरसँग जुझ्दै आर्थिक पुनरुत्थानको कसरतमा छन्। तर भारतले राम्रो प्रगति गरेको छ।

काठमाडौं- पछिल्लो समय भारतले अर्थतन्त्र उल्लेख्य सुधार गर्दै गइरहेको छ। आर्थिक क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले सुरु गरेका सुधारका विभिन्न कार्यक्रमहरूको प्रभाव अर्थतन्त्रमा देखिएका छन्।

भारतले आयकरको सीमालाई बढाएर प्रतिवर्ष १२ लाख भारतीय रुपैयाँ पुर्‍याएको छ। भारतमा ९५ प्रतिशतभन्दा बढी उत्पादनहरूमा वस्तु तथा सेवा कर (जीएसटी) का दरहरूलाई करिब १० प्रतिशतसम्म घटाइएको छ। भारतीय रिजर्भ बैंकले ब्याजदरहरूमा एक प्रतिशतको कटौती गरिसकेको छ। सन् २०२५ डिसेम्बर अन्त्यसम्ममा विभिन्न आधार बिन्दुहरूमा थप कटौती हुने सम्भावनासमेत छ। 

अमेरिकाले ५० प्रतिशत भन्सार शुल्क लगाएपछि भारतको अर्थतन्त्रमा ठूलो दबाब बढ्ने आशंका थियो। तर रिपोर्टहरूका अनुसार  भारतले राम्रो प्रगति गरिरहेको छ। भारत तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको अर्थव्यवस्था बनेको छ। भारत सरकारको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) मा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत रहेको छ।

भारतको व्यापार तथा उद्योग संघ (सीटीआई) ले भारतीय अर्थतन्त्रको यस प्रदर्शनलाई व्यापारी र उपभोक्ताको व्यवहारमा आएको सकारात्मक परिवर्तनको परिणाम भनेको छ।

आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा भारतको जीडीपीमा देखिएको ८.२ प्रतिशतको वृद्धिले विश्वका अन्य ठूला अर्थ व्यवस्थाहरूलाई चुनौती दिएको छ। गत वर्षको सोही अवधिमा भारतको जीडीपी ५.६ प्रतिशतमा सीमित थियो। यस वर्ष विशेषगरी निर्माण क्षेत्र तथा सेवाको क्षेत्रमा वृद्धिदर उच्च छ। निर्माण क्षेत्रमा आर्थिक वर्ष २०२४/२५ को दोस्रो त्रैमासिकमा २.२ प्रतिशतको वृद्धिदर थियो, जुन आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा बढेर ९.१ प्रतिशत पुगेको छ। यसैगरी सेवा क्षेत्रमा पनि वृद्धिदर ९.२ प्रतिशत पुगेको छ।

वित्तीय, घरजग्गा एवं व्यावसायिक सेवाहरूमा वृद्धिदर बढेर १०.२ प्रतिशत पुगेको छ, जुन गत वर्ष सोही अवधिमा ७.२ प्रतिशत थियो। जनप्रशासन, रक्षा र अन्य सेवाहरूमा वृद्धिदर ९.७ प्रतिशत पुगेको छ। गतवर्ष यस्तो वृद्धिदर ८.९ प्रतिशत थियो।

व्यापार, होटल, यातायात एवं सञ्चारमा पनि वृद्धिदर ७.४ प्रतिशत पुगेको छ, जुन गत वर्ष ६.१ प्रतिशत थियो। भारतको केन्द्र सरकारका उपक्रमहरू एवं रक्षाको क्षेत्रमा पनि १६ प्रतिशतको वृद्धि हासिल भएको छ।

कृषि क्षेत्रमा भने वृद्धिदर घटेको छ। गत वर्ष ४.१ प्रतिशत रहेको कृषि क्षेत्रको वृद्धि यस वर्ष घटेर ३.५ प्रतिशतमा झरेको छ।

यस्तै निर्माण क्षेत्रको वृद्धिदर पनि यस वर्ष केही घटेको छ। गत वर्ष ८.४ प्रतिशत रहेको यो क्षेत्रको वृद्धिदर यस वर्ष ७.२ प्रतिशतमा संकुचन भएको छ।

विश्वव्यापी स्तरमा प्रतिकूल परिस्थितिहरूका बीच पनि भारतले राम्रो सुधार गरेको छ। विकसित देशहरूमा विकास दर सुस्त रहेको तथा केही देशहरूमा त विकास दर ऋणात्मक रहेको अवस्थामा भारतको आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि देखिएको छ। 

विभिन्न वित्तीय संस्थाहरू विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी), विश्व व्यापार संगठन (डब्ल्यूटीओ) सँगै भारतीय रिजर्भ बैंक (आरबीआई) ले पनि आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतको आसपास रहने अनुमान गरेका थिए। यस्तोमा भारतको आर्थिक वृद्धि ८.२ प्रतिशत देखिएको छ। 

हार्वर्ड विश्वविद्यालयका दिग्गज अर्थशास्त्री जेसन फरम्यानले सामाजिक सञ्जाल एक्समा विश्वका प्रमुख अर्थ व्यवस्थाहरूको जीडीपीको एक तुलनात्मक वृद्धि चार्ट सार्वजनिक गर्दै विश्वव्यापी कोभिड-१९ महामारीपछि ठूला अर्थव्यवस्थाहरूमध्ये भारतले सबैभन्दा द्रुत गतिमा आर्थिक पुनरुत्थान गरेको बताएका छन्।

उनका अनुसार हालसम्म पनि अधिकांश ठूला अर्थव्यवस्थाहरू ‘कोरोना प्यान्डेमिक’को असरसँग जुझ्दै आर्थिक पुनरुत्थानको कसरतमा छन्। अर्थशास्त्री फरम्यानले यसलाई भारतको ‘संरचनात्मक मजबुती’को परिणाम भनेका छन्। 

भारतमा उत्पादनको मागमा वृद्धि देखिएको छ। निजी उपभोग पनि बढेको छ। आर्थिक वर्ष २०२४/२५ को दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत रहेको निजी उपभोग आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा ८ प्रतिशत पुगेको छ। साथै केन्द्र सरकारको पुँजीगत खर्चमा पनि ३१ प्रतिशतले वृद्धि भएको छ। यसले गर्दा रोजगारीका नयाँ अवसरहरू सिर्जना भएका छन् एवं उत्पादनहरूको मागमा वृद्धि भएको छ। 

भारतमा धार्मिक पर्यटनमा पनि ठूलो वृद्धि भएको छ। भारतको अयोध्यामा नवनिर्मित भगवान् रामको मन्दिरको दर्शनका लागि हाल प्रतिमहिना लाखौँको संख्यामा श्रद्धालुहरू पुग्ने गरेका छन्। यसैगरी वाराणसीस्थित भोलेनाथ मन्दिर, उज्जैनस्थित महाकाल मन्दिर, जम्मुस्थित वैष्णोदेवी मन्दिर, दक्षिणमा तिरुपति बालाजी मन्दिर, ओडिसाको पुरीमा रहेको मन्दिर, उत्तराखण्डस्थित गंगोत्री, यमुनोत्री, केदारनाथ मन्दिर, बद्रीनाथ मन्दिर आदि मन्दिरहरूमा लाखौँको संख्यामा श्रद्धालुहरू दर्शन गर्न पुगिरहेका छन्। हालसालै प्रयागराजमा सम्पन्न कुम्भ मेलामा ६६ करोडभन्दा बढी श्रद्धालु देश-विदेशबाट त्रिवेणीमा स्नान गर्न पुगेका थिए।

भारतमा चाडपर्वहरूमा परिवारहरूद्वारा लाखौँ-करोडौँ रुपैयाँ खर्च गरिन्छ। यस वर्षको एक आँकलनअनुसार दीपावली एवम् दीपावलीको आसपास मनाइएका विभिन्न चाडपर्वहरूमा ६ लाख करोड भारतीय रुपैयाँका विभिन्न उत्पादनहरू बिक्री भएका छन्। यसपछि विवाहको मौसम पनि सुरु हुन्छ जसमा करोडौँको संख्यामा विवाह समारोहहरू सम्पन्न हुन्छन्, यी विवाह समारोहहरूमा पनि भारतीय समाजमा लाखौँ-करोडौँ रुपैयाँ खर्च हुन्छ। यी कारणहरूले पनि भारतमा हालैको समयमा उत्पादनको मागमा ठूलो वृद्धि भएको छ। 

भारतमा यस्ता केही क्षेत्रहरू पनि छन् जसमा वृद्धिदरलाई गति दिन प्रयास गर्नुपर्ने देखिन्छ। उदाहरणका लागि भारतमा खानीहरूबाट हुने उत्पादनमा आर्थिक वर्ष २०२५/२६ को दोस्रो त्रैमासिकमा ०.४ प्रतिशतले गिरावट आएको छ। यो क्षेत्रमा गत वर्षको सोही अवधिमा पनि ०.४ प्रतिशतले नै गिरावट आएको थियो। 

यसबीच भारतमा आयातको मात्रामा पनि उच्च वृद्धि भएको छ, जब कि उत्पादनहरूको निर्यातमा वृद्धिदर केही सुस्त छ। उक्त अवधि (त्रैमासिक) को दौरान भारतमा उत्पादनहरूको आयात १८ हजार ५ सय करोड अमेरिकी डलरको छ, जब कि भारतबाट उत्पादनहरूको निर्यात १० हजार ५०० करोड अमेरिकी डलरको भएको छ। यसप्रकार कुल व्यापार घाटा बढेर आठ हजार करोड अमेरिकी डलर पुगेको छ।

भारतमा कच्चा पदार्थको उपयोगमा आत्मनिर्भरता हासिल गर्नु आवश्यक भएको विज्ञहरूको तर्क छ। जुन वस्तुहरूको उत्पादन भारतमै सजिलै सम्भव छ, तिनको आयात बन्द वा कम गर्नुपर्ने राय उनीहरूको छ। अन्यथा भारतलाई आफ्नो व्यापार घाटा सन्तुलित गर्न अत्यन्त कठिन हुनेछ। 

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित जानकारी र तथ्यांकको सहयोगमा तयार पारिएको।)


प्रकाशित : सोमबार, मंसिर २२ २०८२१०:१९
  • सम्बन्धित विषय:

  • # अर्थतन्त्र
  • # भारत
  • # विश्व अर्थतन्त्र


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend