बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१४ वर्षदेखि अधुरो कमला पुल निर्माणका लागि चन्दा संकलन गर्दै स्थानीय

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
१४ वर्षदेखि अधुरो कमला पुल निर्माणका लागि चन्दा संकलन गर्दै स्थानीय

कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा संकलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ।

सिरहा- १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन्। 

आज कमला पुलमा उपस्थित भइ अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए।

'यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ। विसं २०७८ असार १७ मा  बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ। पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ', उनले भने। 

अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताए।

पटक-पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उनको भनाइ छ। 

मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ। त्यसैले कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा संकलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ। 

यस अभियानका लागि प्रतिपरिवार १० हजारका दरले चन्दा संकलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाउने बताइएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend