बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

२ वर्ष ३ महिनामा सम्पन्न हुनुपर्ने सिटीहल ५ वर्षमा पनि बनेन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १९ २०८२
२ वर्ष ३ महिनामा सम्पन्न हुनुपर्ने सिटीहल ५ वर्षमा पनि बनेन

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो।

चितवन- दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै छ। विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ। 

विसं २०८२ जेठमा हुरीका कारण भवनका ट्रष्ट उडाएपछि काम रोकिएको हो। सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी द्रोणमानदेव कटुवालका अनुसार सिटीहलको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ। तीनपटक म्याद थप गर्दा समेत निर्माणले गति लिन सकेको छैन। पछिल्लो पटक थपिएको म्याद विसं २०८३ असार २५ गते सकिँदैछ। 

भरतपुर महानगरपालिका-१० जिल्ला समन्वय समिति नजिकै निर्माणाधीनमा रहेको यस हलको निर्माण कम्पनीको ढिलासुस्ती र दिइएको ‘डिजाइन’अनुसार काम गर्दा देखिएको प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको हो। केही दिनअघि मात्रै पुनः डिजाइन गरिएको ट्रस्टको नक्सा निर्माण कम्पनीलाई दिइएको र अहिले ट्रष्ट बनाउने काम भइरहेको उनले बताए।

'अब तत्काल हामी ट्रष्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले समेत गति पाउने छ' उनले भने। एक अर्ब २० करोड लागत अनुमान गरिएको सिटीहल निर्माण इन्डो सगुन रौताहा जेभीले ७७ करोड ७७ लाखमा ठेक्का सकारेको थियो।

बाइपास सडकसँगै जिल्ला समन्वय समितिको नाममा रहेको चार बिगाह चार कट्ठा जमिन भरतपुर महानगरपालिकाको नाममा लगेर सिटीहल निर्माण थालिएको हो। हाल सिटीहलको भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायतका कामहरु भइरहेको उनले बताए।

सिटीहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल बन्ने छ। साथै ३ सय जना अट्ने क्षमताको सभा हल पनि रहनेछ। विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ। दुईवटा भर्‍याङ र दुईवटा लिफ्ट, प्रवेशद्वार, स्टेज, रिहर्सल कक्ष पनि रहनेछन्। मुख्य ब्लक ६ हजार ५ सय वर्गमिटरमा निर्माण हुनेछ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend