काठमाडौं- पुँजी बजारमा पछिल्लो समय नियामकीय खुकुलोपन देखिए पनि बजार अपेक्षाकृत वृद्धितर्फ जान धरमर गरिरहेको देखिन्छ। वृद्धि रोकिएको सेयर बजार पुन: उचाइतर्फ नै लाग्ने अपेक्षा कमजोर भइरहँदा बजारको प्रवृत्ति आँकलनभन्दा बाहिर पुगिरहेको छ।
नयाँ बिन्दुतर्फ लागेर कमजोर भएको बजारमा अब किन्नेहरू आत्मविश्वास बढेर आश्वस्त हुन्छन् या बेच्नेहरू हाबी हुन्छन् हेर्न बाँकी छ। पछिल्लो समय सेयर बजार आम चासोको विषय बनको छ। २०८२ असार मसान्तसम्म सेयर बजारमा ६३ लाख ९५ हजार सेयर लगानीकर्ता पुगेका पुगेका छन्। जसमध्ये २१ लाखभन्दा धेरै लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा सक्रिय छन्।
बैंकिङ तरलता ११ खर्ब पुगेको छ। ब्याजदर इतिहासकै न्यून बिन्दुमा आइसकेको छ। तर सेयर बजार भने स्थिर भएर बसेको छ। नेपाल राष्ट्र बैंक देखि अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड पनि बजार सुधारकै काममा देखिएका छन्। तर लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामै देखिन्छन्। त्यसमाथि पनि सानातिना घटनाहरुले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।
नेपाल राष्ट्र बैंकले गएको असार २७ गते शुक्रबार आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक गर्यो। गभर्नर डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो। उनी अर्थतन्त्र चलायमान बनाउन निकै लचक देखिएका थिए। असार अन्तिम साता सार्वजनिक भएको मौद्रिक नीतिले व्यक्तिगत कर्जा सीमा बढाएर सेयर बजारप्रति केही उदारता देखाएको थियो।
मौद्रिक नीतिपछि नै असार २९ मा नेप्से परिसूचक २९ अंकले बढ्यो। कारोबार रकम पनि ११ अर्ब नाघ्यो। आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा उक्लियो। यसैगरी कारोबार रकम पनि बढेर १४ अर्ब नाघ्यो। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार बीचमा उतारचढाव देखिए पनि मौद्रिक निती सार्वजनिक भएपश्चात साउन १३ गते ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका २६० कम्पनीमध्ये ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको छ। जलविद्युत, उत्पादनशील, प्रशोधन, होटल तथा व्यापार क्षेत्रको हिस्सा भने सानो छ। यसरी हेर्दा राजनीतिक अवस्था, सरकारको वित्त नीति तथा राष्ट्र बैंकको मौद्रिक नीति, बजारमा तरलताको उपलब्धता आदिले सेयर बजार बढी प्रभावित बनेको देखिन्छ।
बजारमा तरलता भएपछि बैंकको ब्याजदर घट्छ, जसले गर्दा लगानीकर्ताले पुँजी बजारमा खुलेर लगानी गर्ने वातावरण सिर्जना हुने अघिल्ला अभ्यास बजारमा देखिएपनि यो आर्थिक वर्षमा भने बजारले खासै गति लिन सकेको छैन।
अर्कोतर्फ अहिले बजारमा अधिक तरलता छ। यसले कर्जाको ब्याजदर न्यून बिन्दुमा ल्याएको छ। यसैको मौका छोपी सेयर लगानीकर्ता उत्साहित भएर लगानी बढाउँछन् भन्ने आँकलन गरिएको थियो तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बजारले खासै गति लिन सकेन। आन्दोलनका कारण लगानीकर्ताको मनोबल गिरेको लगानीकर्ता बताउँछन्। आन्दोलनका क्रममा धेरै धनजनको क्षति भयो। आन्दोलनपछि धितोपत्र बोर्डले दुई सातासम्म सेयर बजार नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भयो।
विषम परिस्थीतिका कारण बन्द गरिएको बजारमा ६ प्रतिशतको गिरावट आयो। जसका कारण बजार समयावधिभन्दा पहिले नै बन्द गर्नुपर्यो। एकैदिन १६०.३३ अंकले घटेको बजारमा जम्मा ६ मिनेट मात्रै कारोबार भएको थियो। लगानीकर्ता सेयर बेचेर लगानी सुरक्षित गर्नतर्फ लागे। बन्दको कारण तत्कालीन राजनीतिक अस्थिरता, सरकारी नीतिप्रतिको अनिश्चितता र लगानीकर्ताको मनोविज्ञानमा परेको झट्का नै प्रमुख थियो। सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका रामेश्वर खनाल पनि बजारप्रति सकारात्मक नै देखिएका छन्।
पाका लगानीकर्ता तथा इभेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार जेनजी आन्दोलनका लगानीकर्ताले कारण खुलेर लगानी गर्न नसकेको बताउँछन्। जेनजी आन्दोलनका कारण मास साइकोलाजीमा असर परेकाले लगानीकर्तामा अन्योलता छाएको छ तर बैंकको ब्याजदर कम भएको, तरलता प्रशस्त रहेको र २० महिनालाई सामान आयात गर्ने पैसा सरकारसँग रहेकाले डेभिडेन्ट दिनसक्ने कम्पनीमा खुलेर लगानी गर्न सकिने बताउँछन्। रिस्क जोन २५ प्रतिशत रहेको र सेफ जोन ७५ रहेकाले लगानी गर्दा डराउन नपर्ने उनको भनाइ छ। साथै चुनावअगाडि बजार बढ्नेमा विश्वस्त रहेको उनले बताए।
सेयर लगानीकर्ता सुन्दर न्यौपाने आन्दोलनका क्रममा भएको क्षति र बजारमा बढेको त्रासले अझै लगानीकर्ताले खुलेर लगानी गर्ने मनोबल नबढेको बताउँछन्। बिस्तारै आन्दोलनको प्रभाव कम हुने र बजार बढ्ने उनको विश्वास छ। युवा पुस्ताको असन्तोष र भविष्पप्रतिको अन्यौलताले जन्माएको आन्दोलनले देशमा ठूलो धनजनको क्षति भयो। आन्दालनले जन्माएको नयाँ सरकारले फागुन २१ गते चुनाव गर्ने घोषणा गरेको छ। चुनावको प्रतीक्षा लगानीकर्तामा पनि व्यग्र छ।
पछिल्लो समय सेयर बजारमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ। जो जहाँ बसेर पनि टीएमएसमार्फत सहजै दोस्रो बजार कारोबारमा सहभागी हुन सक्छन्। प्रविधिको विकासले पनि आउँदा दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने निश्चित छ।
सेयर बजारमा नयाँ-नयाँ कम्पनी आउने क्रम रोकिएको छैन। लामो समयदेखि रोकिएका कम्पनीको आईपीओ यो वर्ष आउनेछ। यसले सेयर बजारलाई थप चलायमान बनाउनेछ। बजार पुँजीकरण बढाउनेछ। यीनै कारणले आर्थिक वर्ष २०८२/८३ मा सेयर बजारले सकारात्मक बाटो समात्ने आँकलन गर्न सकिन्छ।
अर्थतन्त्र शिथिल नै रहेकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। यसले तत्कालै सेयर बजारमा ठूलो लगानी आउन सक्ने देखिँदैन । सेयर बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने मुलुकको राजनीतिक अवस्थाले हो। अहिले पनि नेपालको राजनीतिले स्थायित्व प्राप्त गर्न सकेको छैन। चालु आर्थिक वर्ष पनि राजनीति तरल अवस्थाबाटै अघि बढ्ने देखिन्छ। अन्तर्राष्ट्रिय परिस्थिति पनि लगानीअनुकूल बन्न सकेको छैन। यी कारणले भने सेयर बजारले कुन उचाइ लिन्छ भन्न कठिन छ।
२०५० सालमा नेपाल धितोपत्र बोर्ड स्थापना भएको हो। बोर्डले धितोपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबारका लागि संस्थागत आधार तयार भयो। स्थापनापछि धितोपत्र बजारको गतिलाई मापन गर्न नेप्से इन्डेक्स २०५० सालमै विकास गरियो। २०५० देखि २०८२ सालसम्मको अवधिमा आर्थिक वर्ष २०७७/७८ मा नेप्से ३१९९.०३ बिन्दुमा कायम भएको थियो। यो नै नेप्सेको हालसम्मकै उच्च र न्यून बिन्दु हो
सेयर बजार घट्नु वा बढ्नुसँग देशभित्र र बाहिरको आर्थिक स्थिति, आन्तरिक राजनीतिक, गरिबी तथा बेरोजगारीको अवस्था, राष्ट्रिय बचत, लगानीकर्ताको मनोबल, कम्पनीले विवरण, कम्पनीले घोषणा गर्ने लाभांश र यदाकदा सेयर बजारमा हुने गैरकानूनी क्रियाकलाप (कर्नरिङ तथा इन्साइडर ट्रेडिङ)ले पनि सेयर बजारमा उतारचढाव सिर्जना गरेको हुन्छ।
आर्थिक वर्ष २०६४/६५ मा सेयर बजार ११ सय ७५ ले पहिलो उचाइ लिनुको मुख्य कारण राजनीतिक स्थायित्वको अपेक्षा थियो। यो समयमा एक दशक लामो राजनीतिक द्वन्द्वको अन्त्य भइ संविधानसभामार्फत मुलुक लोकतान्त्रिक गणतन्त्रतर्फ फर्किएको थियो। जसका कारण लगानीकर्ताको मनोबल बढ्यो र बजारले नयाँ गति लियो।
आर्थिक वर्ष २०६७/६८ मा नेप्से औसतमा ३६२.९ बिन्दुमा झर्यो। २०६६ सालको असारदेखि ओरालो लाग्न थालेको सेयर बजार उकासिन अर्को तीन वर्ष पर्खिनु पर्यो।
नेप्सेको दोस्रो बुलिस आर्थिक वर्ष २०७०/७१ मा वार्षिक औसत १०३६.१ अंकमा कायम भएको थियो। यो वर्ष दोस्रो संविधानसभाको निर्वाचन भएको थियो। आर्थिक वर्ष २०७०/७१ सकिएलगत्तै सेयर बजार ओरालो लाग्यो। २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पको कारण जनजीवन प्रभावित बनेको थियो भने आर्थिक गतिविधि सुस्त भइ वृद्धिदर एक प्रतिशतमुनि थियो।
राजनीतिक दलहरुबीच सहमति भइ २०७२ सालमा गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो। भूकम्प गएको दोस्रो वर्ष सेयर बजारले सकारात्मक बाटो समात्यो। नागरिकको लामो प्रतीक्षापछि संविधान प्राप्त भएकोले पनि लगानीकर्तामा आत्मविश्वास बढ्यो। तर त्यो पनि लामो समय टिक्न सकेन।
आर्थिक वर्ष २०७४/७५ मै सेयर बजारमा गिरावट आयो। नयाँ संविधान लागु भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मधेस तथा तराईका जिल्लामा आन्दोलन सुरु भयो। त्यसले बजारमा अनिश्चितता पैदा गर्यो। यसका अलावा तीव्र दरमा बढ्दै गइरहेको व्यापार घाटा न्यून गर्न बजेट र मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गर्दै कृषि, ऊर्जा, पर्यटन, साना-मझौला तथा अन्य उत्पादनमूलक उद्योगमा कर्जा विस्तारलाई प्राथमिकता दिए। त्यसको असर सेयर बजारमा परेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा सेयर बजार परिसूचक नेप्सेले फेरि बढ्यो। २०७८ भदौ २ गते नेप्से परिसूचक ३१९९.०३ बिन्दुमा पुगेको थियो।
२०७७ सालमा बजार बढ्नुको मूख्य कारण कोभिड महामारी हो। कोभिड महामारीका कारण आर्थिक गतिविधि ठप्प रहे। सरकारले लकडाउनका घोषण गर्यो। अन्य आर्थिक गतिविधि ठप्प हुँदा लगानीको एकमात्र माध्यम सेयर बजार भयो। कोरोनाकाल सुरु भएपछि डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढ्यो।
आर्थिक वर्ष २०७६/७७ मा १७ लाख ५३ हजार डिम्याट खाता रहेकोमा एक वर्षपछि ११६ प्रतिशतले बढेको थियो। यस्तै मेरो सेयर प्रयोकर्ताको संख्या पनि २८४ प्रतिशतले बढेको थियो। कोरोनाकालमा सेयर बजारमा व्यापक डिजिटलाइजेसन गरियो। जसका कारण दोस्रो बजारमा कारोबार गर्नेको संख्या आर्थिक वर्ष २०७६/७७ बाट २०७७/७८ मा आइपुग्दा २८४८ प्रतिशतले बढेको थियो।
अहिले विभिन्न सूचकहरूले बजार बढ्ने संकेत गरे पनि राजनीतिक अवस्थाको दबाबका कारण सेयर बजार मध्यम गतिमै रहेको छ। चुनावको सुनिश्चितता र राजनीतिक स्थिरतासँगै बजार नयाँ उचाइतर्फ बढ्ने देखिन्छ।
