काठमाडौं- पराल ढुवानीमा प्रहरीले अवरोध गरेको भन्दै किसानहरू विरोधमा उत्रिएका छन्। काठमाडौं उपत्यकामा कृषि उद्यम गर्नेहरूले सरकारी अवरोधको विरोध गरेका छन्।
मधेसबाट पराल ल्याउने मुख्य सिजनमै ढुवानीमा अवरोध भएको र यो अवरोधले गर्दा परालको लागत बढाउने जोखिम रहेको भन्दै उनीहरूले विरोध गरिरहेका छन्। गाई, भैसी पालन तथा च्याउन उत्पादन गर्नेहरूले तराईबाट पराल ल्याउने गरेका छन्।
पराल ल्याउँदा न्यून तौल हुने भएकाले ट्रकको माथिसम्म आउछ। यही कारणले ट्राफिकले अवरोध गर्दै आएको छ। अहिले पथलैयाभन्दा यता आउन नदिएको र पराल लोड भएका ट्रक रोकिएको किसानहरूले बताएका छन्।
अहिले पराल ल्याउँदा सस्तोमा आउने र ढिला भएमा त्यसको लागत बढ्ने उनीहरुको भनाइ छ।
किसानले विरोध गरेपछि गृह मन्त्रालय र कृषि मन्त्रालयले किसानका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।
ट्रकको निश्चित उचाईभन्दा माथि सामान लोड गर्न नपाइने नियम देखाएर ट्राफिकले अवरोध गरेको छ। तर किसानहरुले भने तोकिएको सीमाभन्दा माथि नरहेको र तौल त झन् न्यून रहेको बताउँदै आएका छन्। अहिले लोड भएकै ढाँचामा ल्याउन पाउनुपर्ने उनीहरूको माग रहेको छ।