बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

हिउँद मौसम : वर्षा कम, अधिकतम र न्यूनतम तापक्रम भने बढ्ने संकेत

बिहीबार , मंसिर १८ २०८२
हिउँद मौसम : वर्षा कम, अधिकतम र न्यूनतम तापक्रम भने बढ्ने संकेत

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको मौसम आकलन सार्वजनिक गर्दै हिउँदभर वर्षा कम र तापक्रम भने सरदरभन्दा बढी रहने संकेत गरेको हो।

काठमाडौं- यस वर्षको हिउँदमा देशका अधिकांश क्षेत्रमा वर्षा सामान्यभन्दा कम हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको मौसम आकलन सार्वजनिक गर्दै हिउँदभर वर्षा कम र तापक्रम भने सरदरभन्दा बढी रहने संकेत गरेको हो।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा गण्डकी प्रदेशको उत्तर-पश्चिम क्षेत्रमा वर्षा ‘कम, सरदर वा बढी’ हुने समान सम्भावना छ। तर सुदूरपश्चिमका पूर्वी-दक्षिणी भूभागदेखि कर्णालीको दक्षिण, लुम्बिनीको पश्चिम, बाग्मतीको दक्षिण, मधेसको उत्तर र कोशीका मध्य तथा पूर्वी भूभागमा भने ५५-६५ प्रतिशत सम्भावनासहित वर्षा सरदरभन्दा कम हुने देखिएको छ।

यस्तै गण्डकी, बाग्मती, मधेस र कोशीका अन्य केही भूभाग तथा लुम्बिनी र कर्णालीका मध्य-पूर्वी क्षेत्रमा ४५-५५ प्रतिशत सम्भावनासहित वर्षा कम हुने सम्भावना रहेको विभागले जनाएको छ। बाँकी प्रदेशीय भूभागमा वर्षा कम हुने सम्भावना ३५-४५ प्रतिशतको दायरामा छ।

अधिकतम तापक्रम: अधिकांश क्षेत्रमा थप गर्मीको संकेत

हिउँदमा अधिकतम तापक्रम देशभर बढ्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशका उत्तर र दक्षिण, बाग्मतीका दक्षिण तथा कोशी प्रदेशका उत्तर र दक्षिण-पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५-६५ प्रतिशत छ।

यस्तै कर्णालीको उत्तर, लुम्बिनीको उत्तर तथा कोशी, बाग्मती र गण्डकीका बाँकी भूभागमा ४४-५५ प्रतिशत सम्भावनासहित तापक्रम बढी हुने देखिएको छ। सुदूरपश्चिम, कर्णालीका दक्षिण-पश्चिम र लुम्बिनीका पश्चिम क्षेत्रमा यो सम्भावना ३५-४५ प्रतिशतको दरले देखिएको विभागले जनाएको छ।

लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशमा भने तापक्रम ‘कम, सरदर वा बढी’ हुने समान सम्भावना रहेको उल्लेख छ।

न्यूनतम तापक्रम : देशभर गर्मी बढ्ने सम्भावना

विभागका अनुसार न्यूनतम तापक्रम पनि देशभर सामान्यभन्दा उच्च रहनेछ। सुदूरपश्चिमका उत्तर र दक्षिण-पश्चिम, कर्णालीका मध्य र उत्तर, लुम्बिनीका अधिकांश क्षेत्र, बाग्मतीका उत्तर-पूर्व र दक्षिण-पश्चिम, मधेसका धेरैजसो भूभाग तथा कोशी प्रदेशका दक्षिण र उत्तर-पश्चिम भूभागमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५-६५ प्रतिशत देखिएको छ।

देशका बाँकी भूभागमा न्यूनतम तापक्रम बढी हुने सम्भावना ३५-५५ प्रतिशत रहेको विभागले जनाएको छ।

वर्षा न्यून र तापक्रम उच्च हुने प्रवृत्ति कृषि, जलस्रोत र वातावरणमा प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित पक्षका लागि सतर्कता आवश्यक हुने विभागको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend