काठमाडौं- बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर महानगरपालिका पुल्चोकका शाक्यलाई ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरको अनुसन्धानको सिलसिलामा कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा पक्राउ गरेको हो।
'अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनबिपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुऱ्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/गराउने कसुरमा संलग्न रहेका शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिइ पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको' सीआईबीले जनाएको छ।
प्रभु बैंकका सीईओ अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले शाक्यलाई पनि सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। सीआईबीले यसअघि शेरचनसहित तीनजनालाई पक्राउ गरेको थियो।