बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्त्वपूर्ण : वीरेन्द्रराज पाण्डे

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १६ २०८२
समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्त्वपूर्ण : वीरेन्द्रराज पाण्डे

औद्योगिक विकास केन्द्रित बजेट वाच कार्यक्रममा पाण्डेले समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्वपूर्ण हुने बताए।

काठमाडौं- बजेटको सफल कार्यान्वयनले नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुने भएकाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन महत्वपूर्ण रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताएका छन्। 

औद्योगिक विकास केन्द्रित बजेट वाच कार्यक्रममा पाण्डेले समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्वपूर्ण हुने बताए। 'वित्त नीति अर्थात बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरु सहायक बन्नुपर्ने हुन्छ। बजेटले महत्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव सबैले महसुस गरेको हुँदा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हामीले बजेट वाच पहल अगाडि बढाएका हौँ' उनले भने। 

'बजेटमा निजी क्षेत्रकोतर्फबाट नीतिगत सुझाव दिँदै आएका हुन्छौँ। हाम्रा नीतिगत सुझावहरु बजेटमा समावेश पनि हुन्छन्। त्यसले हामीलाई उत्साह प्रदान गर्दछ। तर जब कार्यान्वयनको चरण आउँछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ' उनले भने। 

प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रकोतर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा परिसंघले विगत तीन आर्थिक वर्षदेखि बजेट वाच पहल सुरु गरेको उनले बताए। उनका अनुसार बजेट वाच बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरुको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो।

यस्तो छ उनको भनाइ

समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य छ। औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी कार्यान्वयन आवश्यक छ। हामी औद्योगिक विकासमा केन्द्रित भइ सोअनुरुप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ। त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ। स्वदेशी उत्पादन बढाउन सकिएन भने हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ।

विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक छ। आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक छ। 

हाम्रो जस्तै अर्थतन्त्र भएका मुलुकहरु आज हामीभन्दा धेरै अगाडि पुगिसकेको छन्। ती देशले किन र कसरी प्रगती हासिल गर्न सके भन्ने विषयलाई हाम्रा नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी हुन्छ। नीति स्थिर हुने, उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगिकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सक्छौँ भन्नेमा म विश्वास राख्दछु। 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend