बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वायुसेवा निगम र पर्यटन बोर्डबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १६ २०८२
वायुसेवा निगम र पर्यटन बोर्डबीच सम्झौता

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका हुन्।

काठमाडौं- नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएको छ। मङ्सिर १६ गते पर्यटन प्रवद्र्धन तथा हवाई सेवामा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका हुन्। 

निगमको केन्द्रीय कार्यालय न्युरोडमा आयोजित एब समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो।दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्झौतामा नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले एक-आपसमा आ-आफ्नो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने प्रावधान राखिएको छ। 

पर्यटन प्रवद्र्धन कार्यका लागि यात्रा गर्दा वा त्यस्ता कार्यक्रममा सहभागिताका लागि जाने पदाधिकारी तथा कर्मचारीहरूलाई निगमका गन्तव्यहरूमा विशेष छुटमा हवाई टिकट उपलब्ध गराइनेछ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले आयोजना गर्ने देशभित्र र विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमहरूमा नेपाल वायुसेवा निगमलाई स्टल उपलब्ध गराउने छ। दुवै संस्थाले आपसी ब्रान्ड प्रमोशन, बजार अभिमुखीकरण, परिचयात्मक भ्रमण र संस्थागत साझेदारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ संयुक्त गतिविधि सञ्चालन गर्ने सहमति भएको छ। 

दुवै निकायबीच भएको यो सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रिय ध्वजावाहक विमान सेवाका रूपमा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहुँच र विश्वसनीयता मजबुत पार्दै आएको छ भने पर्यटन बोर्डले नेपाललाई विश्व बजारमा आकर्षक गन्तव्यका रूपमा परिचित गराउन निरन्तर काम गर्दै आएको छ। 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend