बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

लगानी बोर्डमार्फत ५५ परियोजनामा १७ खर्ब १६ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रस्ताव

मंगलबार, मंसिर १६ २०८२
लगानी बोर्डमार्फत ५५ परियोजनामा १७ खर्ब १६ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रस्ताव

पर्यटन क्षेत्रमा दुई परियोजनासहित ७१ अर्ब ६३ करोड रुपैयाँबराबरको लगानीका प्रस्ताव दर्ता भएको बोर्डले जनाएको छ। होटल, रिसोर्ट, पर्यटकीय संरचना विस्तारजस्ता परियोजना प्रस्तावित रहेका छन्।

काठमाडौं- देशभरबाट दर्ता भएका ठूला परियोजनाका प्रस्तावको संक्षेप सार्वजनिक गर्दै लगानी बोर्ड नेपालले हालसम्म १७ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँबराबरको विदेशी लगानीका लागि प्रस्ताव प्राप्त भएको जनाएको छ। बोर्डले ऊर्जा, उत्पादन, पूर्वाधार, पर्यटन र युटिलिटीसम्बन्धी गरी ५५ परियोजनाको लगानी प्रस्ताव अध्ययन तथा प्रक्रियामा रहेको जानकारी दिएको छ।

बोर्डका अनुसार दर्ता भएका प्रस्तावमध्ये सबैभन्दा ठूलो हिस्सा ऊर्जा क्षेत्रको छ, जसमा करिब १३ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँबराबरको लगानीका लागि परियोजना प्रस्तावित भएका छन्। निजी क्षेत्रसँगको सहकार्यमा जलविद्युत्, प्रसारण लाइन र अन्य ऊर्जा-पूर्वाधार विकासका योजनाहरूको प्रस्ताव आएको हो।

उत्पादन तथा म्यानुफ्याक्चरिङ क्षेत्रमा समेत लगानी रुचि बढ्दै गएको बोर्डको विवरणमा उल्लेख छ। हालसम्म २३ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानीका प्रस्ताव दर्ता भएका छन्। पूर्वाधार क्षेत्रबाट आएको प्रस्ताव पनि उल्लेखनीय छ, जहाँ करिब ६४ अर्ब  ९० करोड रुपैयाँबराबरको एक परियोजनाका प्रस्ताव आएको छ। 

पर्यटन क्षेत्रमा दुई परियोजनासहित ७१ अर्ब ६३ करोड रुपैयाँबराबरको लगानीका प्रस्ताव दर्ता भएको बोर्डले जनाएको छ। होटल, रिसोर्ट, पर्यटकीय संरचना विस्तारजस्ता परियोजना प्रस्तावित रहेका छन्। त्यस्तै सार्वजनिक सेवा क्षेत्रमा तीन परियोजनाबाट ५ अर्ब ९१ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव दर्ता भएको छ।

लगानी बोर्डले सार्वजनिक-निजी साझेदारी र प्रत्यक्ष वैदेशिक लगानीमार्फत नेपालमा ठूला परियोजना आकर्षित गर्ने लक्ष्यसहित मोडेलमा परियोजना अघि बढाइरहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार दर्ता भएका प्रस्तावहरू विभिन्न चरणमा छन। केहीको अध्ययन अन्तिम चरणमा पुगेका छन् भने केही परियोजना लेखन र स्वीकृतिका प्रक्रियामा रहेका छन्।


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend