बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

सालझण्डी-ढोरपाटन सडक : तीनपटक म्याद थप्दा ६० प्रतिशत काम

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १५ २०८२
सालझण्डी-ढोरपाटन सडक : तीनपटक म्याद थप्दा ६० प्रतिशत काम

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो।

ढोरपाटन- तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।

ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ। सडकको बुर्तिबाङ-फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द/ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो।

विसं २०८० बैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ। ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ। उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ।

२५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी-ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिए। अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ। केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताए। यो अन्तिम म्याद रहेको उनी बताउँछन्।

आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ। अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ। पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिले नै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले बताए।

गत मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो। विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ। रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो।

यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए। पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ। फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने बुर्तिबाङ-ढोरपाटन खण्डकै फल्लेघर-देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ।

सालझण्डी-ढोरपाटन सडक आयोजनाले गत असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो। यस खण्ड सुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन। १६ करोड ४८ लाख २६ हजार २२८ लागतमा दुई वर्षमा सक्ने गरी काम सुरु भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ।

सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउँछिन्। तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उनको भनाइ छ। अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताए। रासस


प्रकाशित : सोमबार, मंसिर १५ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend