काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले उपभोक्तालाई झुक्याउनेगरी भ्रमपूर्ण विज्ञापन गरेको पाइएको छ। कम्पनीले वाईफाई सिक्सलाई 'सीक्स जी' भनेर उपभोक्ता झुक्याउनेगरी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विज्ञापन गरेको हो।
मोबाइल नेटवर्कको 'सिक्स जी' जस्तै अर्थ लाग्नेगरी कम्पनीले गरेको विज्ञापनमा सार्वजनिक प्रश्न उठ्न थालेको छ। सामाजिक प्रयोगकर्ता तथा यो क्षेत्रका जानकारहरूले कम्पनीले मार्केटिङ रणनीतिका लागि ग्राहक झुक्याउन खोजेको बताएका छन्।
वर्ल्डलिंकले वाईफाई सिक्स प्रविधिको राउटर ल्याएको हो। सिक्स गिगाहर्जको फ्रिक्वेन्सीको यो राउटरबाट प्रवाह हुने इन्टरनेट प्रवाह छोटो दूरीमा हुने तर यसको स्पिड भने बढी हुन्छ। तर यसैलाई कम्पनीले 'सीक्स जी'को नाममा प्रचार गरेको छ।
'सीक्स जी' भन्ने भाषाको प्रयोग प्राय वायरलेस नेटवर्कमा प्रयोग हुन्छ। वर्ल्डलिंकले आफ्नो वाईफाई सिक्सलाई नै 'सीक्स जी' जस्तो गरी विज्ञापन गरेको छ।
यसरी 'सीक्स जी' भनेर प्रचार गर्दा प्रष्ट हुनेगरी व्याख्या पनि दिइएको छैन। अझ यसलाई धेरै कभरेज, धेरै स्पीड हुने भनेर प्रचार गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले भने 'सीक्स जी' हो कि 'वाईफाई सिक्स' हो भनेर ग्राहकलाई स्पष्ट पार्नुपर्ने नत्र उपभोक्तालाई गुमराहमा राख्न नमिल्ने बताएको छ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल प्रष्टीकरण दिएरमात्र विज्ञापन तथा प्रचार गर्नुपर्ने नत्र ग्राहकलाई झुक्याउनेगरी कसैले पनि विज्ञापन गर्न नपाइने बताउँछन्। ‘हाम्रो सम्बन्धित महाशाखाले यसमा मनिटरीङ गरिरहेको होला। तर यसरी ग्राहक झुक्याउयन भने पाइँदैन’ अर्यालले भने।