बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अपर अरुण जलविद्युत् : एनआरएन र विदेशमा रहेका नेपालीका लागि १३ अर्बको सेयर प्रस्ताव

आइतबार, मंसिर १४ २०८२
अपर अरुण जलविद्युत् : एनआरएन र विदेशमा रहेका नेपालीका लागि १३ अर्बको सेयर प्रस्ताव

निर्माण अवधि व्याजबाहेक आयोजनाको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। सात वर्षको निर्माण अवधिमा लाग्ने व्याज सहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ। सो लागतमध्ये ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋणमार्फत रकम जुटाइने प्रस्ताव छ।

काठमाडौं- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा बन्ने १ हजार ६३ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको सेयर छुट्याउने प्रस्ताव गरिएको छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय संरचना प्राधिकरण सञ्चालक समितिले अनुमोदन गर्दै सरकारसमक्ष पेश गर्ने निर्णय गरेको हो।

निर्माण अवधि व्याजबाहेक आयोजनाको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। सात वर्षको निर्माण अवधिमा लाग्ने व्याज सहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ। सो लागतमध्ये ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋणमार्फत रकम जुटाइने प्रस्ताव छ।

आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयर निष्कासन गरिनेछ। साधारण सेयरको १८ प्रतिशत एनआरएन तथा विदेशमा रोजगारीमा रहेका नेपाली, १० प्रतिशत आयोजनास्थल र सङ्खुवासभाका बासिन्दा, १८ प्रतिशत सर्वसाधारण, २ प्रतिशत पिछडिएको क्षेत्र तथा १ प्रतिशत प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइनेछ।

मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्वदेशी पूँजीलाई प्राथमिकता दिँदै आवश्यक सबै प्रक्रिया छिटो अगाडि बढाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ। आयोजनाको ५१ प्रतिशत संस्थापक लगानीमा नेपाल विद्युत प्राधिकरणकै हिस्सेदारी ४१ प्रतिशत रहनेछ। साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडीसीएल, सामाजिक सुरक्षा कोष, बीमा तथा पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र स्थानीय सरकारको पनि संस्थापक शेयर हुने व्यवस्था छ।

कुल लागत अन्तर्गत १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण जुटाउन सहुलियतपूर्ण सहवित्तीयकरण, ऊर्जा बण्ड जारी गर्ने र बैंक–वित्तीय संस्थाबाट कर्जा लिने प्रस्ताव गरिएको छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडीसीएल, नेपाल टेलिकम तथा बीमा-पुनर्बीमा कम्पनीले ४५ प्रतिशत योगदान गर्ने प्रारम्भिक योजना छ।

आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ। व्यावसायिक उत्पादन सुरु भएपछि पहिलो वर्षमा करिब २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रारम्भिक वर्षमा औसत पीपीए दर ६ रुपैयाँ ३० पैसा रहने र मूल्य समायोजनका आधारमा आयोजना अवधिभर औसत ७ रुपैयाँ ८० पैसा हुने प्रक्षेपण छ।

हाल आयोजनाको निर्माणपूर्व तयारीका काम भइरहेको प्राधिकरणले जनाएको छ। विद्युतगृहदेखि बाँधस्थलसम्म २१ किलोमिटर सडक निर्माण, ७० मिटर स्टिल आर्क पुल निर्माण तथा कोशी राजमार्गबाट आयोजनास्थलतर्फका पहुँचमार्ग विस्तार तीव्र गतिमा अघि बढाइएका छन्।

प्राधिकरणले अपर अरुणलाई स्वदेशी लगानीमै अघि बढाई ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान गर्ने दीर्घकालीन परियोजना रुपमा हेरिएको छ।


प्रकाशित : आइतबार, मंसिर १४ २०८२०८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend