म्याग्दी- बेनी-पाखापानी सडकअन्तर्गत किराखोर-नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ।
बेनी नगरपालिका-९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो।
बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ। नेप्टेचौर-तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ।
वर्षायामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन्। यो सडक कालोपत्र गर्न १० करोड १६ लाख १ हजार ३ सय ६४ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ। रासस
