बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

१९ देशका नागरिकको ग्रीन कार्ड ट्रम्प प्रशासनले पुनरावलोकन गर्ने

शुक्रबार, मंसिर १२ २०८२
१९ देशका नागरिकको ग्रीन कार्ड ट्रम्प प्रशासनले पुनरावलोकन गर्ने

‘सुरक्षाका दृष्टिले संवेदनशील’ भन्दै १९ देशका नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्ने भएको छ।

काठमाडौं- ‘सुरक्षाका दृष्टिले संवेदनशील’ भन्दै १९ देशका नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्ने भएको छ।

वाशिङ्टन डीसीमा नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली चल्ने घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन प्रणालीको व्यापक पुनरावलोकन गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोका अनुसार राष्ट्रपतिको निर्देशनअनुसार ती देशका सबै ग्रीन कार्ड पुनः परीक्षणका लागि आदेश जारी गरिएको छ। राष्ट्रपतिको जुन महिनाको घोषणाले अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालाई ‘उच्च जोखिम’ समूहमा राखेको छ।

गोलीकाण्डमा संलग्न अफगान नागरिक रहमानउल्लाह लाकानवाल पहिचान भएपछि प्रशासनले आप्रवासन नियमन थप कडा बनाएको हो। २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि ‘अपरेशन एलाइज वेलकम’मार्फत अमेरिका भित्रिएका लाकानवालले २०२४ मा आश्रयका लागि आवेदन दिएका थिए, जुन ट्रम्प प्रशासनले २०२५ अप्रिलमा स्वीकृत गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

गृह सुरक्षा मन्त्रालयले बाइडेन प्रशासनकालमा स्वीकृत भएका सबै शरण तथा आश्रयसम्बन्धी फाइल पनि पुनरावलोकनमा रहेको जनाएको छ। मन्त्रालयका अनुसार अफगान नागरिकमाथि चलिरहेका सबै आप्रवासन प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ। सुरक्षा जाँच तथा भेटिने प्रक्रिया परिमार्जन नभएसम्म कुनै आवेदन अघि नबढाइने स्पष्ट गरिएको छ।

ट्रम्पले मार-ए-लागोबाट जारी सम्बोधनमा बाइडेन प्रशासनले अफगान नागरिक प्रवेशमा गरेको नीतिलाई घटनाको कारण ठहर गर्दै देशमा बस्न नहुने विदेशीलाई हटाइने चेतावनी दिएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार २०२१ अगस्टपछि करिब १ लाख ९० हजार अफगान नागरिक अमेरिका पुनर्वास भइसकेका छन्।

प्रशासनको नयाँ कदम ट्रम्पको कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend