तनहुँ- विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न थालिएको छ। व्यास-७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको हो।
उक्त मार्गको हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ। पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भन्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव छ किलोमिटर कालोपत्र गरिनेछ।
आयोजना निर्माणका लागि बिकेएचटि डिसिएल-एसिपिएल जेभी काठमाडौंले बोलपत्र प्रक्रिया पूरा गरी निर्माण थालेको व्यास नगरपालिकाका इञ्जिनीयर डा राजु पौडेलले जानकारी दिए। उनका अनुसार पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको हो।
व्यास-११ का वडाध्यक्ष दलबहादुर दुराले कालोपत्र सुरुवात भएसँगै स्थानीयमा उत्साह छाएको बताए। कृषि उपजलाई बजारसम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको यात्रा सहज बनाउने भएकाले उत्साह छाएको उनको भनाइ छ।
नगरको योजना शाखा अधिकृत भेषराज तिवारीका अनुसार यो आयोजनाको लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का पाएको छ। छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी बालेपत्र प्रक्रिया अघि बढाएको थियो।
सडक सञ्चालनमा आएपछि बजारसम्मको सहज र छिटो पहुँच विस्तार हुनुका सामाजिक सेवा प्रदानमा सहज हुने व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको उनको भनाइ छ। रासस
