काठमाडौं- ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय सहमतिको प्रयास अघि बढेको छ।
बंगलादेशमा नेपाल र बंगलादेशबीच बसेको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेएनटीएफ) बैठकले भारतलाई परियोजनामा समावेश गराउने अघिल्लो सहमतिको आधारमा आयोजना अघि बढाउने तयारी गरेको हो।
बुधवाबार सम्पन्न कार्यदल बैठकमा नेपालले हाल बंगलादेशमा निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् अझै बढाएर लैजाने व्यवस्था कसरी गर्ने भन्ने विषय प्रमुख एजेन्डा बनेको थियो। हाल भारतीय प्रसारण लाइनमार्फत मात्र विद्युत् आपूर्ति हुने भएकाले थप निर्यातका लागि नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माण र विद्यमान संरचनाको क्षमता अभिवृद्धि अनिवार्य हुनेमा नेपाल-बंगलादेश दुवै पक्ष एकमत छन्।
भारत-बंगलादेश सम्बन्ध चिसिएको वर्तमान अवस्थामा नेपाल-बंगलादेश विद्युत् व्यापार विस्तार थप जटिल बन्न सक्ने मूल्यांकन बैठकमा गरिएको छ। संयुक्त प्रसारण लाइनका विषयमा भारतीय सहमति आवश्यक हुने भएकाले आगामी चरणमा त्रिपक्षीय समन्वय नै निर्णायक ठहरिने देखिन्छ।
बिहीबार बस्ने सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएस्टीसी) बैठकले सहसचिवस्तरीय छलफलमा उठेका विषयलाई अनुमोदन गर्दै अगाडि बढाउने तयारी भएको बताइएको छ।
गत वर्षको जेएसटीसी बैठकमा नेपाल र बंगलादेशले सुनकोशी-३ जलविद्युत् आयोजना विकासमा भारतलाई समेट्ने सहमति गरेका थिए। आयोजना निर्माणका लागि संयुक्त उपक्रम बनाउने र त्यसमार्फत निर्माण प्रक्रिया अघि बढाउने तयारी छ।
करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना बहुपक्षीय विद्युत् व्यापारका दृष्टिले रणनीतिक मानिन्छ। आयोजना निर्माणसँगै उत्पादित बिजुलीको ठूलो भाग बंगलादेशतर्फ निर्यात गर्ने लक्ष्य राखिएको छ, जसका लागि भारतमार्फत ‘डेडिकेटेड ट्रान्समिसन लाइन’ आवश्यक पर्नेछ।
बैठकले वैकल्पिक ऊर्जामा नेपाल-बंगलादेश सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा पनि प्रारम्भिक छलफल गरेको छ। यी विषयलाई बिहीबारको सचिवस्तरीय बैठकले थप विस्तृत रूपमा छलफल गरी निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ।
नेपाल-बंगलादेश विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, तथा सुनकोशी-३ जस्ता ठूला आयोजना संयुक्त रूपमा अघि बढाउने प्रयासले दक्षिण एसियाली ऊर्जा बजारमा नयाँ मोडेलका रूपमा विकास हुने अपेक्षा राखिएको छ।
