काठमाडौं- हङकङको ताइ-पो जिल्लास्थित वाङ फुक कोर्ट आवासीय क्षेत्रमा लागेको भीषण आगो लागेकै १९ घन्टापछि पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। बुधबार दिउँसो स्थानीय समयअनुसार २:५१ बजे ३२ तले टावरको बाहिरी स्काफोल्डिङबाट सुरु भएको आगो तीव्र हावाका कारण वरपरका अन्य भवनमा समेत फैलिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार आठ ठूला टावरमध्ये सातवटामा आगो लाग्दा ४ हजार ८ सयभन्दा बढी बसोबासकर्ता जोखिममा परेका छन्। हालसम्म ४४ जनाको मृत्यु पुष्टि गरिएको छ भने ६२ जनाभन्दा बढी घाइते र २७९ जना सम्पर्कविहीन रहेका अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये एक जना अग्निनियन्त्रकको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार बिहानसम्म पनि आवासीय क्षेत्रको आकाश बाक्लो धुवाँले ढाकिएको छ। टावरहरूबाट निस्किरहेको आगो र धुवाँका मुस्लो अझै रोकिएका छैनन्। उद्धार कार्यमा प्रहरी, फायर फोर्स, एम्बुलेन्ससहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्माण कम्पनीका निर्देशकसहित तीन जना पक्राउ
आगलागीको कारण औपचारिक रूपमा खुलाइएको छैन। तर भवन निर्माणमा सुरक्षा मापदण्ड नपुर्याइएको आशङ्का गर्दै ५२, ५४ र ६८ वर्ष उमेरका तीन जना- निर्माण कम्पनीका निर्देशकहरू तथा एक इन्जिनियरिङ परामर्शदाता-लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार भवनको बाहिरी भागमा प्रयोग भएका केही सामग्रीले आगो प्रतिरोधका अनिवार्य मापदण्ड पूरा नगरेको पाइएको छ। साथै एउटा टावरका हरेक तल्लामा लिफ्ट लबी नजिक अत्यधिक ज्वलनशील स्टाइरोफोम भेटिएको छ।
वरिष्ठ अधिकारी आइलीन चङका अनुसार, “गम्भीर लापरबाही” भएको ठोस आधार प्राप्त भएको छ। आगलागी सुरु भएको भवनमा मर्मतसम्भार चलिरहेको र निर्माण कम्पनीले ज्वलनशील सामग्री त्यहीँ छाडेको बिबिसीले उल्लेख गरेको छ।
उच्च तापक्रम र भग्नावशेषका कारण उद्धार कठिन
आगलागी सुरु भएको केही मिनेटभित्रै ठूलो रूप लिएको थियो। ८०० उद्धारकर्मी परिचालन गरिए पनि भवनभित्रको अत्यधिक तापक्रम, भत्किरहेका भागहरू तथा स्काफोल्डिङका कारण उद्धार कार्य निकै जोखिमपूर्ण बनेको छ। करिब ९ सय जनालाई अस्थायी आश्रयस्थलमा सारिएको छ।
हङकङका अधिकारीहरूले बिहीबार बिहानसम्म चारवटा भवनको आगो नियन्त्रणतर्फ उन्मुख भएको जनाए पनि जोखिम उच्च नै रहेको बताइएको छ।
सन् १९९६ मा काउलुनस्थित एक व्यावसायिक भवनमा लागेको आगोमा ४१ जनाको मृत्यु भएको थियो। यसपटकको आगो बुधबारदेखि जारी ती आगलागीहरू मध्ये हङकङकै सबैभन्दा घातक घटना बनेको छ।