काठमाडौं- जेनजी आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई सहयोग गर्न गोल्याण ग्रुप अघि सरेको छ। शहीद परिवारका बालबालिकालाई कक्षा १२ सम्म पूर्ण गुणस्तरीय शिक्षा दिलाउन गोल्याण ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ।
गत असोज २४ मा गरिएको घोषणालाई कार्यान्वयन गर्दै मंगलबार पहिलो चरणको सम्झौता गोल्याण टावरमा सम्पन्न भएको हो। गोल्याण ग्रुपले २४ शहीद परिवारका ३२ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरिसकेको छ। पहिलो चरणमा ६ शहीद परिवारका ९ बालबालिकाको पूर्ण खर्च व्यहोर्ने गरी सम्झौता भएको हो।
ग्रुपले प्रत्येक विद्यार्थीका लागि वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्म शुल्क, खानाखाजा, छात्रावास, यातायातदेखि अतिरिक्त क्रियाकलाप, पुस्तक-स्टेशनरी र पोशाकसम्मका सबै खर्च बहन गर्नेछ। विद्यालयले जारी गर्ने बिलबिजक अनुसार रकम सोझै विद्यालयलाई भुक्तानी गरिनेछ।
सम्झौता कार्यक्रममा बोल्दै गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले शहीदको योगदानलाई सम्मानस्वरूप मन-मुटुबाटै बालबालिकाको शिक्षाको जिम्मेवारी लिएको बताए। शिक्षा केवल कक्षाकोठामा सीमित नहुने उल्लेख गर्दै उनले शैक्षिक पहुँचसँगै बालबालिकाको कला, सीप र क्षमता विकासका लागि पनि आवश्यक सहयोग उपलब्ध गराइने बताए। 'यो कुनै व्यवसायिक प्रयोजन होइन, राष्ट्रिय जिम्मेवारी र भावनासँग जोडिएको प्रतिवद्धता हो,' उनले भने।
गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेका अनुसार कुल २४ परिवारका ३२ बालबालिकालाई समेटिने कार्यक्रमअन्तर्गत करिब डेढ करोड रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ।
मंगलबार ९ बालबालिकासँग सम्झौता भइसकेको र बाँकी बालबालिकासँग चरणबद्ध रूपमा सम्झौता हुँदै जाने उनले जानकारी दिइन्। साथै, शैक्षिक वृत्तिबाहेक स्वास्थ्य बीमा नपुगेका शहीद परिवारका सदस्यलाई पनि बीमाको दायरा विस्तार गरिने प्रक्रिया सुरु भएको बताइन्।
सम्झौता कार्यक्रममा सहभागी विद्यालयका प्रमुखहरूले गोल्याण ग्रुपको सामाजिक जिम्मेवारीप्रतिको भावनालाई प्रशंसनीय भन्दै बालबालिकाको शैक्षिक प्रगति र भावनात्मक विकासमा विद्यालयले कुनै भेदभाव नगरी साथ दिने प्रतिबद्धता व्यक्त गरे। त्रि-ज्योती सेकेन्डरी स्कुल, क्याम्ब्रिज पब्लिक हाइस्कुल, नर्थ पोल एकाडेमी लगायतका विद्यालयबाट प्रतिनिधिहरूले बालबालिकालाई सुरक्षित वातावरण, मनोसामाजिक सहयोग, अतिरिक्त क्रियाकलाप र नियमित अनुगमनमार्फत शैक्षिक गुणस्तर सुनिश्चित गर्ने बताए।
सम्झौताले चारै पक्ष-गोल्याण ग्रुप, विद्यालय, अभिभावक र विद्यार्थी-का दायित्व स्पष्ट पारेको छ। विद्यालयले भेदभावविना शिक्षा प्रदान गर्नुपर्नेछ भने अभिभावकले अध्ययनका लागि अनुकूल वातावरण तयार पार्ने जिम्मेवारी लिनेछ। बालबालिकाले नियमित हाजिरी, परीक्षा तथा शैक्षिक स्तर कायम राख्दै अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रयत्नशील रहनुपर्नेछ।
सम्झौतासँगै जेन-जी आन्दोलनका शहीद परिवारका बालबालिकाले दीर्घकालीन शैक्षिक सुरक्षा, गुणस्तरीय शिक्षासँगै प्रतिभा विकासका अवसर पनि प्राप्त गर्ने भएका छन्। कार्यक्रममा सहभागी अभिभावकले गोल्याण ग्रुपको पहलले दीर्घकालीन रूपमा बालबालिकाको भविष्य सुनिश्चित भएको अनुभूति व्यक्त गरेका थिए।