काठमाडौं- चांगान अटोमोबाइलअन्तर्गतको न्यु इनर्जी ब्रान्ड दिपलले चीनमा रहेको हुन्डाईको कारखाना अधिग्रहण गरेको छ। जसलाई चिनियाँ अटोमोबाइल उद्योगको उत्पादन क्षमता पुनर्संरचनाको नयाँ उदाहरणको रुपमा हेरिएको छ।
स्थानीय मिडिया द इकोनोमिक अब्जर्भरको हालैको रिपोर्टअनुसार चांगानले बेइजिङमा रहेको हुन्डाईको चोकिङ उत्पादन प्लान्ट अधिग्रहण गर्दै उक्त प्लान्टलाई दिपल उत्पादन केन्द्रमा परिणत गरिनेछ।
चांगानका अनुसार यो प्लान्टमा भर्खरै दिपलको ब्रान्डिङ गरिएको छ तर उत्पादन सुरु भने भइसकेको छैन। कम्पनीले आफ्नो उत्पादन लाइनअप सेटअप गरेर दिपलका विद्युतीय कार उत्पादन सुरु गर्ने जनाएको छ।
सन् २०१५ मा निर्माण सुरु भएको यो प्लान्टबाट सन् २०१७ को अगस्टबाट उत्पादन सुरु भएको थियो। १८.७ लाख वर्गमिटरमा फैलिएको यो प्लान्टको कुल लगानी १ अर्ब १० करोड अमेरिकी डलर रहेको छ। यो प्लान्टमा वार्षिक तीन लाख वटा कार उत्पादन गर्ने क्षमता रहेको छ।
सन् २०२४ मा चांगानको वार्षिक उत्पादन क्षमता २२.५ लाख वटा कार रहेको छ। जुन उसको कुल उत्पादन क्षमताको ८४ प्रतिशत हो। चांगनले यो वर्षको अन्तसम्ममा ३० लाख वटा कार बिक्री गर्ने लक्ष्य राखेको छ।
चीनमा हालै ज्वाइन्ट भेन्चरका प्लान्ट अधिग्रहण गर्ने ट्रेन्ड बढ्दै गएको छ। बेइजिङ हुन्डाईको पहिलो प्लान्ट सन् २०१९ मा बन्द भएको थियो। दुई वर्षपछि यो प्लान्टलाई एलआई अटोले अधिग्रहण गरेको थियो।
पछिल्ला वर्षहरुमा विदेशी अटोमोबाइल ब्रान्डका कारखानाहरु बन्द हुँदै गएपछि घरेलु अटो निर्माताहरुले ती कारखाना खरिद गर्न थालेका हुन्।
