काठमाडौं- चीनबाट नयाँ-नयाँ विद्युतीय ब्रान्ड आउने क्रम रोकिएको छैन। आइसकेका ब्रान्डहरु नै केही फिर्ता गइसकेका छन् भने केही बजार बनाउन संघर्ष गरिरहेका छन्।
यस्तैमा अर्को नयाँ ब्रान्डको विद्युतीय कार नेपाल भित्रिएको हो। सिटी कारका रुपमा बोमा विद्युतीय कार नेपाल आएको हो। होनरी ब्रान्डको बोमा विद्युतीय कार दुईवटा ब्याट्री र मोटर अप्सनमा छ। हाल कम्पनीले बोमा कार आयात गरेर परीक्षणलगायतको काम गरिरहेको छ।
होनरी ब्रान्डको विद्युतीय कार नेपाली बजारमा ईभी राइड प्रालिले ल्याएको हो। चारढोके सिटी कार बोमा नेपाली बाटोका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। विभिन्न सहरी क्षेत्रमा यो कारको परीक्षण गरेरमात्र बिक्री सुरु गरिने कम्पनीको भनाइ छ।
हाल नेपालमा विभिन्न कम्पनीका सिटी कार उपलब्ध छन्। डेरी, दाहे, दिगोले ल्याएको ई-८ लगायत ब्रान्ड गुणस्तर र स्पेयर पार्ट्स तथा सर्भिस उपलब्ध हुन नसकेका कारण बन्द भइसेका छन्। तर होनरीको बोमाका लागि भने नेपालको सहरी क्षेत्रका लागि उपयुक्त बडी साइज, ब्याट्री तथा मोटर क्षमता अध्ययन गरेर ल्याइएको कम्पनीको भनाइ छ।
बोमा ईभीले एक पटकको फुल चार्जमा २ सय किलोमिटरसम्म रेन्ज दिने छ भने यसमा २० देखि ३० किलोवाट आवरको ब्याट्री क्षमता हुनेछ।
ईभी राइड प्रालिले काठमाडौंको धुम्बाराहीमा शोरुम तथा सर्भिस सेन्टरको निर्माण गरिरहेको छ। कार बिक्री गरेपछि आवश्यक पर्ने सर्भिसका लागि कम्पनीले सुरुमै स्तरीय सर्भिस सेन्टर निर्माण कार बिक्री सुरु गर्नुअघि नै तयार पारिसक्ने गरी काम भइरहेको कम्पनीको भनाइ छ। त्यस्तै कम्पनीले सुरुवातमै केही समयका लागि आवश्यक पार्टसपूर्जासमेत स्टकमा राख्ने बताएको छ।
यसअघि आएका ब्रान्डबाट पर्याप्त सर्भिस र स्पेयर पार्टस उपलब्ध नभएको उपभोक्ताको गुनासोलाई सुरुमै सम्बोधन गरेर जाने दाबी ईभी राइडले गरेको छ।
त्यस्तै कम्पनीले बोमा ईभी कारसँगै विद्युतीय मिनिबस पनि ल्याउने भएको छ। ईभी राइडले १५ सिट क्षमताभन्दा बढीका विद्युतीय मिनिबस पनि ल्याएर परीक्षण गर्ने भएको छ। मिनिबस आयात गरेर परीक्षण गरेपछिमात्र त्यसबारेमा जानकारी गराउने कम्पनीको भनाइ छ।
