बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बागमती नदी करिडोर उज्यालो हुँदै, सिसिटिभीमार्फत कडाइका साथ निगरानी

मंगलबार, मंसिर ९ २०८२
बागमती नदी करिडोर उज्यालो हुँदै, सिसिटिभीमार्फत कडाइका साथ निगरानी

बागमती नदी करिडोरलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले गोकर्णदेखि बल्खुसम्मका क्षेत्रमा स्मार्ट बत्ति जडान र आधुनिक सिसिटिभी निगरानी प्रणाली स्थापना गर्ने प्रक्रिया सुरु भएको छ।

काठमाडौं- बागमती नदी करिडोरलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले गोकर्णदेखि बल्खुसम्मका क्षेत्रमा स्मार्ट बत्ति जडान र आधुनिक सिसिटिभी निगरानी प्रणाली स्थापना गर्ने प्रक्रिया सुरु भएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले करिडोर क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि र सुरक्षासम्बन्धी चुनौतीलाई व्यवस्थितरूपमा नियन्त्रण गर्न नयाँ प्रविधियुक्त सर्भिलेन्स र लाइटिङ प्रणाली जडान गर्न लागेको हो।

यसका लागि निर्माण व्यवसायी छनोट गर्न समितिले टेन्डर आह्वान गरिसकेको छ। अब नदी तथा नदी किनारमा फोहोर फाल्ने वा अवैध गतिविधि गर्नेहरूलाई आधुनिक सिसिटिभीमार्फत निरन्तर निगरानी गर्ने व्यवस्था हुनेछ। जडान गरिने १२० सिसिटिभी क्यामेरा तापक्रम, धुलो र पानी प्रतिरोधी हुनेछन् र दिनरात दुबै समयमा काम गर्न सक्षम रहनेछन्। यी क्यामेराको सर्भर तथा मनिटरिङ युनिट काठमाडौं उपत्यका प्रहरी कार्यालयमा रहने छ, जसले सुरक्षा अनुगमनलाई अझ प्रभावकारी बनाउनेछ।

बागमती करिडोरका अँध्यारा क्षेत्रमा उज्यालो वातावरण निर्माण गर्न ५६७ स्मार्ट सडक बत्ति, ४८ फ्लड लाइट र ६ हाइमास्ट फ्लड लाइट जडान गरिनेछ। यसले रात्रीकालीन सुरक्षामा सुधार ल्याउने, अपराध तथा अव्यवस्थित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र बागमती सरसफाइ महाअभियानलाई पनि थप सशक्त बनाउने समितिको भनाइ छ।

सिसिटिभी र स्मार्ट बत्ति जडान भएपछि गोकर्ण-बल्खु क्षेत्रको समग्र सुरक्षा, वातावरण व्यवस्थापन, फोहोर नियन्त्रण र रात्रीकालीन गतिविधिको अनुगमन एकीकृत तथा अत्याधुनिक प्रविधिबाट सञ्चालन हुने भएकाले करिडोरलाई सुरक्षित, उज्यालो र व्यवस्थित बनाउने लक्ष्य लिइएको समितिले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend