बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

रसुवागढी नाकास्थित बेलिब्रिज निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ८ २०८२
रसुवागढी नाकास्थित बेलिब्रिज निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलिब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ।

रसुवा- नेपाल-चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता पाएको छ।
        
दैनिक ३०-३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलिब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो।

गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलिब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ।

चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो। 

खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलिब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्काे जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिको भनाइ छ।   

स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलिब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ।  

उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलिब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ।

स्थानीय गोसाइँकुण्ड गाउँपालिका-२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताउँछन्। रासस


प्रकाशित : सोमबार, मंसिर ८ २०८२१६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend