बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ईभीमा लगानी कम गर्दै भारतमा स्थानीय साझेदारको खोजीमा फक्सवागन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
ईभीमा लगानी कम गर्दै भारतमा स्थानीय साझेदारको खोजीमा फक्सवागन

फक्सवागन विश्वको दोस्रो धेरै कार बिक्री गर्ने कम्पनी हो। भारत विश्वको तीव्र गतिमा विस्तार भइरहेको प्यासेन्जर कार बजार हो। त्यही कारण पनि फक्सवागन आफ्नो ब्रान्ड नेम भारतमा कुनै पनि हिसाबमा बचाइराख्न चाहन्छ।

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी फक्सवागन एजीले भारतमा विद्युतीय कार विकासमा गर्ने भनेको लगानी कटौती गर्ने भएको छ। यसका लागि फक्सवागनले स्थानीय साझेदारको खोजी गरिरहेको छ। 

युरोपको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी फक्सवागन ग्रुपले यसअघि भारतमा विद्युतीय सवारी विकास र उत्पादनमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको थियो। अब कम्पनीले उक्त लगानीमा केही कटौती गर्दै ७० डलरमात्र लगानी गर्ने बताएको छ। 

भारत आएको करिब दुई दशक हुन लाग्दा फक्सवागनको बजार हिस्सा २ प्रतिशतभन्दा कम नै रहेकाले पनि कम्पनीले लगानी कटौती गरेर स्थानीय साझेदार खोजीलाई प्राथमिकतामा राखेको द इकोनोमिक टाइम्सले लेखेको छ। लागत र जोखिमको समेत साझेदारी गर्नेगरी भारतयि साझेदार फक्सवागनले खोजी रहेको छ। 

गत वर्ष भारतीय सवारी उत्पादक महिन्द्रासँग साझेदारीका विषयमा फक्सवागनको कुराकानी भइरहेको थियो। तर दई कम्पनीबीचको कुराकानीले मुर्त रुप लिन सकेन। फक्सवागनको भारतीय कम्पनी स्कोडा अटो फक्सवागन इन्डियाले अहिले पनि विभिन्न कम्पनीहरुसँग छलफल गरिरहेको छ। 

फक्सवागनले सम्भावित साझेदार र त्यो नपाइएमा कन्ट्राक म्यानुफ्याक्चरर्सको विकल्पमा पनि कुराकानी गरिरहेको छ। कम्पनीले जेएसडब्लू ग्रुप, एसएआईसी मोटर कर्पलगायतसँग छलफल गरिरहेको छ। 

फक्सवागनले भारतमा स्कोडा र फक्सवागन ब्रान्डमा मास मार्केट कार बिक्री गरिरहेको छ भने विलासी कारहरुमा लिम्बर्गिनी, अउडी र पोर्सा बिक्री गरिरहेको छ। 

भारतले कार्बन उत्सर्जन नीतिलाई कसिलो बनाउँदै २०२७ बाट कार्यान्वयन गर्न खोजेको छ। सोही कारण पनि धेरी सवारी उत्पादकले विद्युतीय कार उत्पादनलाई प्राथमिकतामा राखेका छन्। फक्सवागनले भारतमा २०२८ बाट मात्र ईभी उत्पादन गर्ने योजना बनाएको छ। त्यसअघि आयातित ईभी बिक्री गर्ने तयारीमा फक्सवागन छ। 

फक्सवागनले भारतमा गरेको लगानी कटौती चीन तथा पश्चिमा बजारमा थप गर्ने बताइएको छ। भारतसँगै दक्षिण एसियाली बजारमा पछिल्लो २० वर्षमा गरेको केही अर्ब डलर लगानीको उचित प्रतिफल प्राप्त हुन नसकेको बुझाइ युरोपेली कार निर्माताको छ। 

कोरियन कार निर्माता हुन्डाई र कियाले भारतमा कार बिक्रीबाट नाफा अर्जान गरिरहेको अवस्थामा अमेरिकी र युरोपेली कार निर्माताले भने आफूलाई बचाइराख्न पनि कठीन भइरहेको छ। अमेरिकी कम्पनी जनरल मोटर्स तथा फोर्डले भारत छाडिसकेको छ। फोर्ड भने पुनः भारत आउने निश्चित गरेर काम गरिरहेको छ। 

यस्तैमा फक्सवागन पनि भारतमा टिक्नकै लागि संघर्ष गरिरहेको छ। फक्सवागन विश्वको दोस्रो धेरै कार बिक्री गर्ने कम्पनी हो। भारत विश्वको तीव्र गतिमा विस्तार भइरहेको प्यासेन्जर कार बजार हो। त्यही कारण पनि फक्सवागन आफ्नो ब्रान्ड नेम भारतमा कुनै पनि हिसाबमा बचाइराख्न चाहन्छ। 


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend