काठमाडौं- सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबारसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने कम्पनीलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गरेका छन्।
कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट एक करोड एक लाख रुपैयाँ जम्मा भएको छ। सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एक लाख रुपैयाँबराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।
त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो। यही मङ्सिर ३ गते अर्थमन्त्री खनाललाई उक्त ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए।