बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाँसलाई संरचना निर्माणमा प्रयोग गर्ने डिजाइन मार्गदर्शन स्वीकृत

सोमबार, मंसिर ८ २०८२
बाँसलाई संरचना निर्माणमा प्रयोग गर्ने डिजाइन मार्गदर्शन स्वीकृत

सरकारले संरचना निर्माणमा बाँसको प्रयोग बढाउन ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२’ स्वीकृत गरेको छ।

काठमाडौं- सरकारले संरचना निर्माणमा बाँसको प्रयोग बढाउन ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२’ स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको समन्वयमा तयार गरिएको सो मार्गदर्शनलाई तीन मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले स्वीकृत गरेका हुन्।

स्वीकृत मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माण प्रक्रिया संस्थागत गर्ने जनाएको छ। शहरी विकास मन्त्रालयले मार्गदर्शन कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गर्ने तयारी गरेको छ।

स्टील र कंक्रिटमा आधारित निर्माण प्रविधि महँगो हुने, वातावरणमा नकारात्मक असर पार्ने र ग्रामीण भेगमा सामग्रीको पहुँच सीमित रहने अवस्थालाई दृष्टिगत गर्दै ग्रामीण क्षेत्रमा सहजै उपलब्ध बाँसलाई वैकल्पिक निर्माण सामग्रीका रूपमा प्रवर्द्धन गर्न मार्गदर्शनले जोड दिएको मन्त्री घिसिङले बताए। उहाँका अनुसार स्थानीय रूपमा उपलब्ध बाँस प्रयोग गर्दा निर्माण लागत घट्ने भएकाले विपन्न तथा गरिबी रेखामुनिका परिवारलाई टिकाउ आवास निर्माणमा मद्दत पुग्नेछ।

छिटो बढ्ने वनस्पतिका रूपमा परिचित बाँसको उपयोगले इँटा, सिमेन्ट र फलाममा निर्भरता कम गर्ने, साथै अन्य निर्माण सामग्रीका कारण वातावरणमा परिरहेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न सकिने मन्त्री घिसिङको भनाइ छ।

अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान र प्रचलित मानकका आधारमा तयार गरिएको मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारणदेखि प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड तय गरेको छ। भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित नमुना घर डिजाइनसमेत समावेश गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ।

मार्गदर्शन निर्माणका क्रममा शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिक, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग तथा मदन भण्डारी विश्वविद्यालयमार्फत आवश्यक परीक्षण गरिएको थियो।

यसअघि बाँसजन्य निर्माण सामग्री प्रवर्द्धनका लागि नीतिगत व्यवस्थाको माग गर्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह बसेका थिए।


प्रकाशित : सोमबार, मंसिर ८ २०८२०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend