काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को साउन-कात्तिकसम्म (पहिलो चार महिना) नेपालले गरेको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा आयात र निर्यात दुवै बढे पनि निर्यातको वृद्धि दर आयातभन्दा धेरै उच्च देखिएको छ। पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। भने आयात करिब १८.७१ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।
आयातभन्दा निर्यातको बढ्दो ट्रेण्ड देखिएको छ। गत वर्षको यो अवधिमा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ११.९९ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
निर्यात बढेपछि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.३० प्रतिशतबाट बढेर १३.३० प्रतिशत पुगेको छ। यसैगरी आयातको हिस्सा ९०.७० प्रतिशतबाट घटेर ८६.७० प्रतिशतमा आएको छ। आयात–निर्यात अनुपातमा पनि सुधार देखिएको छ।