बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ७ २०८२
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ। कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौं ल्याउनुपर्ने बाध्यता छ।

काठमाडौं- विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन्।

गत असार २४ गते नेपाल-चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ। पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ चाडपर्वका लागि सामान ल्याएका झण्डै २ सय कन्टेनर केरुङ नाकामै थन्किएको बताउँछन्। 'दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ', उनले भने।

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो। संघका पूर्वअध्यक्ष श्रेष्ठ केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताउँछन्।

कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ। उक्त नाकामा दैनिक चार/पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ। हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ। कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौं ल्याउनुपर्ने बाध्यता छ।

कोरोला नाका चिसो बढेकाले गाडी ‘स्टार्ट’ गरेर राख्नुपर्ने बाध्यताले गर्दा तेल समेत धेरै खर्च हुने गरेको व्यवसायी बताउँछन् । केरुङ नाका चाँडो खोल्नसके सामान आयतमा सहज हुने व्यवसायीहरु बताउँछन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्की नेपाल चीन जोड्ने दुई ठूला नाका राम्रोसँग सञ्चालनमा नआउँदा सामान आयतमा समस्या परेको बताउँछन्। 'मुख्य नाका बन्द हुँदा बैकल्पिक नाका प्रयोग गरेर सामान ल्याउँदा सामानको मूल्यसमेत बढ्न जान्छ, तत्काल नाका खुलाउन सरकार पहल गर्नुपर्‍यो', उनी भन्छन्।

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनको पार्टस्लगायत आयात हुँदै आएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल तातोपानी नाकाबाट अपेक्षाअनुसार सामान भित्रिने नसकेको बताउँछन् । 'केरुङ नाका सञ्चालन हुँदापनि तातोपानी नाकाबाट दैनिक २५ देखि ३० कन्टेनर सामग्री भित्रिने गरेको थियो, हाल उक्त नाका बन्द छ तर तातोपानी नाकाबाट सामान भित्रिने कन्टेनर बढ्नुको सट्टा घटेको छ', उनी भन्छन्।

वर्षात्को समयमा मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा अरनिको राजमार्ग पनि रोकिएको थियो। पछिल्लो समय चीनबाट नेपाल भित्रिएका सामग्रीमध्ये झण्डै ८० प्रतिशत फलफूल रहेको भन्सार कार्यालय तातोपानीले जनाएको छ। तातोपानीका प्रमुख भन्सार अधिकृत चुडाल चीनबाट सहज रुपमा सामान आयतका लागि चीनस्थित महावाणिज्य दूतावाससँग कुराकानी भइरहेको बताउँछन्।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला केरुङ नाका सञ्चालन नभएपनि तातोपानी नाका हुँदै चीनबाट नेपालमा सामान भित्रिरहेको बताउँछन्। 'चिसोको कारण कोरोला नाकाबाट सामान आउन सकेको छैन, तातोपानी नाकाबाट दैनिक ३०/३५ कन्टेनर सामान भित्रिरहेको छ', उनी भन्छन्। रासस


प्रकाशित : आइतबार, मंसिर ७ २०८२१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend