बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

व्यापार बढाउने माध्यम बन्यो एनपीएल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ७ २०८२
व्यापार बढाउने माध्यम बन्यो एनपीएल

पोहर साल हरेक दिनजसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ। कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ।

काठमाडौं- कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिलेभन्दा निकै बाक्लो भएको छ। पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ। यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपीएल)।

यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात एनपीएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन्। एनपीएलका लागि जाने दर्शकहरु कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन्। 

खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपीएल सहयोगी बनेको उनीहरुको बुझाइ छ। कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए।

'पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ', उनले भने। कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ।

रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन्। ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपीएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए।

'हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ', उनले भने। उक्त रेष्टुरेन्टले एनपीएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ। रासस


प्रकाशित : आइतबार, मंसिर ७ २०८२१२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend