बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय गन्तव्य बन्यो अमाह सिमसार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ७ २०८२
पर्यटकीय गन्तव्य बन्यो अमाह सिमसार

पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन्।

धरान- बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जंगलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ। 

अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन्।

पहिला पोखरी जीर्ण अवस्थामा थिए तर संघीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि धेरै पर्यटक आउने गरेका छन्।

सिमसार क्षेत्रभित्र अमाह देवीथान मन्दिर पनि छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य रहेको अध्यक्ष घले बताउँछन्। जहाँ उधौली-उभौलीका बेला विशेष पूजा गरिन्छ। यहाँ पूजा गर्दा हराएको सामान फेलापर्ने जनविश्वासका कारण पनि यहाँ दैनिक रूपमा भक्तजन आउने गरेका अध्यक्ष घलेले बताए।

सिमसार क्षेत्रमा दैनिक दुई हजारदेखि दुई हजार ५०० जति पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन करिब १० हजारसम्म पर्यटक आउने गरेका उनको भनाइ छ। अध्यक्ष घलेले भने, 'ठूलो खुला क्षेत्रफलमा फैलिएको ठाउँ भएका कारण एकैपटकमा ७० देखि ८० वटा समूहले वनभोज (पिकनिक) खान सक्ने क्षमता रहेकाले विशेषगरी पिकनिक तथा शैक्षिक भ्रमणका लागि यो स्थल लोकप्रिय बन्दै गएको छ।' धेरैजसो पर्यटक असोजदेखि माघ, फागुनमा अत्यधिक वृद्धि हुने गरेको अध्यक्ष घलेले बताए।

सिमसार सामुदायिक वन नजिकै भएकाले साँझपछि हात्ती देखापर्ने सम्भावना रहने भएकाले सुरक्षाका हिसाबले ५ः३० पछिको समय व्यवस्थापन गरेर पर्यटकलाई आफ्नो गन्तव्यतर्फ पठाइने गरिएको अध्यक्ष घलेले जानकारी दिए।

अमाह सिमसारभित्र हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायतका विभिन्न वन्यजन्तु पाइने भएकाले जैविक विविधता अवलोकन गर्न चाहने पर्यटक पनि यहाँ आउने गरेका छन्। यही चहलपहलका कारण स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

प्रदेश सरकारले २०७८/७९ मा २० लाख र २०७६/७७ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकाले सिमसारको कम्पाउण्ड, गेट तथा भित्र चिल्ड्रेन पार्क निर्माण गरिएको अध्यक्ष घलेले बताए। पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको थप प्रवर्द्धनका लागि प्रत्येक वर्ष प्रदेश र संघीय सरकारबाट सहयोग हुँदै आएको उनले बताए। रासस


प्रकाशित : आइतबार, मंसिर ७ २०८२११:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend