गुल्मी- व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान पुनःपशुपालनमा आकर्षित हुन थालेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा किसानले पशुजन्य उत्पादनबाट चार अर्ब रुपैयाँभन्दा बढी कारोबार गरेको जानकारी दिए।
केन्द्रका अनुसार गत आवमा चार अर्ब ५९ करोड २९ लाखभन्दा बढी मासु, दूध र अण्डा उत्पादन भएको छ। जसमा एक अर्ब ८४ करोड ३८ लाख रुपैयाँको दूध मात्रै उत्पादन भएको छ।
केन्द्रका अनुसार गत आवमा गाईको दूध छ हजार ३८१ मेट्रिकटन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिकटन उत्पादन भएको थियो। जिल्लामा आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा २ दशमलव ५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको केन्द्रको भनाइ छ।
हाल जिल्लाबाट दैनिक एक हजार ५०० लिटर दूध अन्य जिल्लामा जाने गरेको छ। जिल्लाका सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा तुलनात्मक रुपमा बढी दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादन हुने दूध रुपन्देही र पोखरा पठाउने गरिएको छ।
गुल्मीमा गत आवमा दुई अर्ब ५८ लाख २३ हजार बराबरको मासु उत्पादन भएको छ। गत आर्थिक वर्षमा जिल्लाबाट १५ हजार खसीबोका, एक हजार ९०० राँगाभैँसी र पाँच लाख ४७ हजार ५०० लिटर दूध जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ। रासस