बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ६ २०८२
सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि  विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो।

त्रिवेणी- व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ। 

कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए। 

किसानको बारीसम्ममै पुगेर विषादीको प्रयोगसम्बन्धी सचेतना प्रदान गर्न सुरु गरिएको उनले बताए। नवलपुरको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा केही दिनअघि काउलीमा ‘अर्गानोफस्फेट’ विषादीको मात्रा ९८ प्रतिशत भेटिएको थियो।

कावासोती कृषि थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएका सागसब्जीमा लगातार रूपमा विषादीको मात्रा भेटिएपछि  विषादी प्रयोग न्यूनीकरणका लागि संयुक्त पहल थालिएको हो। 'पछिल्लो पटकका परीक्षणहरूमा सागसब्जीमा विषादीको मात्रा भेटिन थालेपछि, कृषकलाई यसको प्रयोगको बारेमा सचेत गराउने अभियान सुरु गरेका हौँ', कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले भने। 

सागसब्जी उत्पादक किसानसहित विषादी बेच्ने  एग्रोभेटका सञ्चालकहरूलाई समेत विषादीको प्रयोगका विषयमा सचेत गराउने उद्देश्यले अहिले कामहरू गरिएको उनले बताए। किसानहरूलाई सही रूपमा विषादीको प्रयोग गर्न सिकाउन, जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरूको बारेमा जानकारी दिनका लागि संयुक्त अभियान चलाइएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिए। उक्त क्रममा  किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गर्ने गरिएको छ।

किसानलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने सम्भावित असरबारे जानकारी गराउने गरिएको छ। साथै विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई सिकाउने गरिएको कृषि विकास कार्यालय नवलपुर प्रमुख तिवारीले बताए। 

किसानले विषादीको सही रूपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र कडा खालका विषादी प्रयोग गर्दा सागसब्जीमा विषादीको अवशेष भेटिने गरेको उनले बताए। किसानलाई विषादीको सही प्रयोग सिकाए मात्र पनि सागसब्जीमा विषादीको मात्रा घट्ने र मानव स्वास्थ्य जोगाउन सहयोग पुग्ने कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए। विषादी प्रयोग पछि विषादीको प्रकार हेरेर कति दिन टिप्न नहुने भन्ने समेत रहने हुँदा यो विषय ख्याल गरे मात्र पनि बजारका सागसब्जीमा विषादीको मात्रा घट्ने उनको भनाइ छ।  

संयुक्त पहलमा थालिएको अभियानपछि कृषकले सागसब्जीमा विषादीको मात्रा घटाउँदै गएकाले उपलब्धि राम्रो भएको उनले बताए। निरन्तर सचेतनाका कार्यक्रम गर्दै जाँदा अहिले यहाँका व्यावसायिक कृषि फर्मबाट उत्पादन हुने सागसब्जी राम्रो उत्पादन हुने थालेको कृषि विकास कार्यालय नवलपुरका प्रमुख तिवारीले बताए। रासस 


प्रकाशित : शनिबार, मंसिर ६ २०८२१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend