झापा- पूर्वीनाका काँकरभिट्टाबाट चालु आवको चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार रुपैयाँबराबरको फलफूल आयात भएको छ।
अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजारको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।
गत आवको तुलनामा चालु आवमा १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ। नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ। काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ।
चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए। उनका अनुसार कात्तिकमा भन्सारले राजस्व संकलनको लक्ष्य एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार राखेको थियो। तर सो अवधिमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार संकलन भएको उहाँले जानकारी दिए। रासस