काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा दुईवटा वाइडबडी जहाज प्रयोग गरिरेहको छ। दुईवटै जहाजको चारवटै इन्जिन मर्मतको समय नजिकिँदै छ।
उडान साइकलको अवधिअनुसार इन्जिन मर्मत हुने समय नजिकिएको हो। 'साइकल' सेभको नीतिमा जहाज उडान नगरेको भए २०२५ को डिसेम्बरमा नै इन्जिन मर्मत गर्नुपर्ने अवस्था आउने थियो। तर निगममा निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको लापरबाही र साइकल सेभको नीतिमा उडान कटौती गर्दा केही समय लम्बिएको हो।
निगम स्रोतका अनुसार अब अहिलेकै अवस्थाअनुसार उडान भए सन् २०२६ को जुनभित्रै इन्जिन मर्मतमा पठाउनु पर्ने छ। तर निगम व्यवस्थापनले इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी कम्पनी छनोट प्रक्रियामा ढिलासुस्ती गरिरहेको छ।
निगम व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मतकै गल्ती पुन दोहोाउँदै छ। इन्जिन मर्मत र इन्जिन भाडा एकै कम्पनीबाट लिने गरी टेन्डर गर्न लागेको छ।
एउटै कम्पनीबाट इन्जिन मर्मत र भाडामा लिँदा इन्जिन मर्मतमा लापरबाही भएको इतिहासबारे निगम आफै जानकार छ। तर पनि इन्जिन भाडाबापतको कमिसनका लागि एउटै कम्पनीबाट दुईवटै काम गराउने खेल भइरहेको छ।
अब तत्काल नै इन्जिन मर्मत तथा भाडाको प्रक्रिया सुरु नगर्ने हो भने नेपाल एयरलाइन्सका दुईवटै जहाज ग्राउन्डेड हुने अवस्थामा पुग्छ।
एक त वाइडवडीको इन्जिन भाडामा पाउनु निकै कठिन हुन्छ। भाडामा पाएको अवस्थामा पनि भाडाबापतको रकम महँगो पर्छ। इन्जिन व्यवस्थापनमा तत्काल नै काम सुरु नगर्ने हो भने अन्तिम समयमा इन्जिन भाडामा पाउने अवस्था नहुने निगमका कर्मचारी बताउँछन्। एक दिनमात्रै एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमको आम्दानी १ करोड ५० लाख रुपैयाँभन्दा बढीले गुम्छ।
निगम उच्च तहमा काम गरिरहेका कर्मचारी कमिसनका लागि स्वार्थअनकूलको एजेन्ट खोजिरहेका छन्। टेन्डरका लागि सबै डकुमेन्ट तयार भएपनि बोलपत्र आव्हान हुन सकेको छैन।
पछिल्लो समय भने नेतृत्व अभावको कारण प्रक्रिया होल्ड भएको निगम स्रोतको दाबी छ। निगम स्रोतका अनुसार नयाँ महाप्रबन्धक नियुक्ति छनोट प्रक्रिया सुरु भएको हुँदा नयाँ महाप्रबन्धक नियुक्ति नहुँदासम्म प्रक्रिया नै होल्ड गर्ने अवस्था छ।
दुईवटा जहाजको चारवटा इन्जिन मर्मतमा मात्रै ७ देखि ८ अर्ब रुपैयाँ खर्च हुने र इन्जिन मर्मतमा पठाइएको समयमा भाडामा लिने इन्जिनको रकम बढी हुने हुँदा प्रक्रिया अगाडि बढाउन कर्मचारीहरु डराएका छन्।
इन्जिन मर्मत र भाडामा लिने प्रक्रियामा १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ। निगमको व्यापार घटेको र जहाज खरिदमा लिएको ऋणको ब्याज र किस्तासमेत तिर्न नसकेको अवस्थामा इन्जिन मर्मतमा हुने खर्च अभावको अवस्था छ।
निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका जहाज २०७५ को असार र साउनमा आएका थिए। कोरोना महामारीका कारण उडान कम हुँदा अहिलेसम्म उडान समय आइपुगेको हो। कोरोना महामारी नभएको भए जहाजको इन्जिन मर्मत गरिसक्नु पर्ने समय हुन्थ्यो। निगम स्रोतका अनुसार दुईवटै जहाजको चारवटै इन्जिन एकैपटक मर्मत गर्नुपर्ने समय नजिकिएको छ।
वाइडबडी जहाजको इन्जिनको यो पहिलो मर्मत हो। इन्जिन मर्मतमा ३ देखि ४ महिनाको समय लाग्ने छ। यस्तो अवस्थामा जहाज उडान गर्ने हो भने इन्जिन अनिवार्य भाडामा लिनुपर्छ। एउटामात्रै जहाज उडान गर्ने हो भने दुईवटा र दुईवटै जहाज उडान गर्ने भए चारवटै इन्जिन भाडामा लिनुपर्छ। वाइडबडी इन्जिनको भाडा नै औसतमा दैनिक १५ हजार डलरसम्म पर्ने निमग स्रोतको दाबी छ।
स्रोतका अनुसार इन्जिन निर्माता कम्पनीले इन्जिन मर्मतका लागि न्यूनतम ६ महिनाअगाडि नै स्लट बुकिङ नभएको अवस्थामा काम नहुने संकेत दिइसकेको छ। यस्तो अवस्थामा इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गर्न जति ढिला हुन्छ निगमलाई त्यति नै बढी आर्थिक भार थपिने छ।
