काठमाडौं- देशभर राजनीतिक अस्थिरता र आन्दोलनका बीच कात्तिक महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कात्तिकमा २८ हजार ८ सय ८३ वटा लिखत पास भएका छन्।
गत असोजमा देशभर २३ हजार ३ सय ५३ लिखत पास भएको थियो। कात्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत असोज महिनामा पनि राजस्व संकलन २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ पुगेको थियो।
विभागका अनुसार जेनजी आन्दोलन र चाडपर्वका कारण कार्यालय सञ्चालनमा केही कठिनाइ भए पनि लिखत पास र राजस्व संकलनमा ठूलो असर देखिएको छैन।
कात्तिक महिनामा देशभरका मुख्य मालपोत तथा भूमिसुधार कार्यालय अनुसार लिखत पास भएका छन्।
झापाका भद्रपुरमा १,००३ र दमक ५२५, मोरङका बेलवारी १,०१४, विराटनगर ४५० र रङ्गेली २०८, सुनसरीका इनरुवा १,१५८ र धरान १७७, सप्तरीका राजविराज ७९५ र कञ्चनपुर १४८, धनुषाका जनकपुरधाम १,१२० र ढल्केवर २२३, सर्लाहीका मलंगवा ६५५, हरिवन ३३७ र वरहथवा ३३४, काठमाडौँका डिल्लीबजार १४६, चावहिल ३२२, कलंकी ४१४, साँखु २७९, मनमैजु १७८ र टोखा १११, दाङका घोराही ३८६, तुलसीपुर ५१५, लमही २४७ र कोहलपुर ५८२, रुपन्देहीका बुटवल ५०९ र रुपन्देही ४२०, कैलालीका धनगढी ६८४ र टिकापुर २५७, कञ्चनपुरका महेन्द्रनगर ४४१ र बेलौरी १६६ कारोबार रहेका छन्।
विभागका अनुसार राजनीतिक अस्थिरता र आन्दोलनका बीच पनि घरजग्गा बजार स्थिर देखिनु बजारको वास्तविक माग कायम रहँदा सम्भव भएको हो।