काठमाडौं- भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशको प्यूठानस्थित ऐरावती गाउँपालिका–१ अमिलीमा निर्मित विद्यालय तथा छात्रावास भवनको उद्घाटन गरिएको छ। भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा नयाँ पूर्वाधार सार्वजनिक गरे।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, समाजसेवी, विद्यालयका शिक्षक तथा विद्यार्थी अभिभावकको सहभागिता थियो।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदानले निर्माण सम्पन्न भएको विद्यालय–छात्रावास भवन र अन्य संरचना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। परियोजनाले स्थानीय क्षेत्रमा शिक्षा पूर्वाधार सुदृढ गर्न योगदान गरेको जनाइएको छ।
प्यूठानको ग्रामीण भेगको अग्रणी सरकारी शिक्षालय मानिने श्री दाङवाङ माध्यमिक विद्यालयमा हाल २३४ विद्यार्थी अध्ययनरत छन्, जसमा करिब ६० प्रतिशत छात्रा रहेका छन्। विद्यालयले ईसीडी (प्ले–ग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दै आएको छ।
गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरोकारवालाले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले शिक्षार्थीहरूलाई गुणस्तरिय शिक्षासँगै थप सुन्दर सिकाइ वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार आधुनिक पूर्वाधारले विद्यालयको समग्र शैक्षिक विकासमा महत्वपूर्ण प्रभाव पार्नेछ।
भारत र नेपालबीचको छिमेकी सम्बन्धले दुई देशबीचको व्यापक तथा बहुक्षेत्रीय सहकार्यलाई निरन्तरता दिएको भारतीय पक्षले जनाएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाका माध्यमबाट प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणमा भइरहेको सहयोगले नेपालले लक्ष्य बनाएको विकास र समृद्धिको यात्रालाई बल पुर्याइरहेको दूतावासले उल्लेख गरेको छ।