काठमाडौं- सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनर्संरचना गर्न अध्ययन-सुझाव समिति गठन गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रकाशजंग केसीको संयोजकत्वमा समिति गठन गरी आवश्यक अध्ययनपछि सुझाव पेस गर्न निर्देशन दिएको हो।
यससँगै जेनजी आन्दोलनका क्रममा घाइते भएका २४२९ जनालाई जनही १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारी निर्णय भएको छ। आन्दोलनका क्रममा घाइते भएका नागरिकको थप उपचार र तत्कालीन सहयोगका लागि पहिलो चरणको राहतस्वरूप रकम वितरण गरिने बैठकले जनाएको छ।
बैठकले नेपाल विशेष सेवा ऐन २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। सुरक्षा र विशेष सेवा व्यवस्थापनसम्बन्धी कानुनी संरचना अद्यावधिक गर्न अध्यादेश आवश्यक रहेको सरकारी तर्क छ।
त्यसैगरी, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।