बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमिरेट्सले गर्‍यो ३८ अर्ब डलरबराबरका ६५ वटा नयाँ बोइङ अर्डर

मंगलबार, मंसिर २ २०८२
एमिरेट्सले गर्‍यो ३८ अर्ब डलरबराबरका ६५ वटा नयाँ बोइङ अर्डर

काठमाडौं- दुबई एयरशोको पहिलो दिनमा नै अमेरिकी विमान निर्माता बोइङले ठूलो व्यापारिक सफलता हात पारेको छ। मध्यपूर्वकै अग्रणी एयरलाइन एमिरेट्सले सोमबार ६५ वटा अतिरिक्त बोइङ ७७७-९ जहाज किन्न अर्डर सार्वजनिक गरेपछि ७७७ एक्स सिरिजसहित एमिरेट्सको अर्डर संख्या २७० पुगेको छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो वाइडबडी जहाज खरिदकर्ताको रूपमा एमिरेट्सले नयाँ अर्डर गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

विश्वकै सबैभन्दा ठूला दुई इन्जिन भएका यी जहाजको डेलिभरीमा भइरहेको ढिलाइका बीच अर्डर विस्तार भएकोले विश्लेषकहरूले यसमा पहिल्यै भएको ढिलाइका क्षतिपूर्तिको अंश हुनसक्ने टिप्पणी गरेका छन्। जुन अर्डर भएको विमानको मूल्य ३८ अर्ब डलरबराबरको रहेको छ।

सोमबार सुरु भएको दुबई एयरशोमा हजारौँ दर्शक, अतिथि तथा एयरलाइन्स क्षेत्रका प्रतिनिधिहरू अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलको प्रदर्शनी हल र रनवे वरिपरि भरिभराउ देखिएका छन्। विमान, हेलिकप्टरदेखि लिएर ड्रोनसम्मका अत्याधुनिक उपकरणहरू प्रदर्शनमा राखिएका छन्।

मध्यपूर्वका देशहरूले पर्यटन र यातायातलाई तेलबाहेकका वैकल्पिक अर्थतन्त्रमध्ये प्रमुख स्तम्भ बनाउने रणनीतिअनुसार विगतमा समेत यस एयर शोमा विश्वभरका ठूला अर्डर सार्वजनिक हुँदै आएका छन्। यसपटक पनि एमिरेट्सको विशाल अर्डरले एयर शोलाई थप चर्चा दिलाएको छ।

बोइङले ७७७-९ भन्दा अझ ठूलो संस्करणको सम्भाव्यता अध्ययन गर्ने विषयमा एमिरेट्ससँग सहमति जनाएपछि नयाँ अर्डर औपचारिक बनेको जनाइएको छ।

अमेरिकी निर्माता कम्पनीले दुबई एयर शोको पहिलो दिनमै अफ्रिकी एयरलाइन्सहरूसँग पनि अतिरिक्त सम्झौता पाएका छन् भने चीनले आफ्नो सी-९१९ विमान पहिलोपटक मध्यपूर्वमा प्रदर्शन गरेको छ।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend