काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण गर्न नसक्ने अवस्थाहरू बढिरहेका बेला नेपाल वायुसेवा निगमले अबका दिनमा आफ्ना विमान डाइभर्ट गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक गन्तव्यका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। यो व्यवस्था मंसिर ३ गतेदेखि लागू हुने निगमले जनाएको छ।
अहिला सम्म त्यस्ता अवस्थाहरूमा निगमका विमान भारतका विभिन्न विमानस्थलमा डाइभर्ट हुँदै आएका थिए। विदेशमा डाइभर्ट हुँदा थप खर्च बढ्नुका साथै समय समेत खर्चिने भएकाले भैरहवा विमानस्थललाई वैकल्पिक गन्तव्य बनाउँदा उल्लेख्य खर्च कटौती तथा समयको बचत हुने निगमको आकलन छ।
निगमले भैरहवा विमानस्थलकै उपयोगलाई प्राथमिकतामा राख्दै, अर्को अन्तर्राष्ट्रिय विमानस्थल पोखरालाई समेत डाइभर्टका लागि सम्भावित वैकल्पिक गन्तव्य बनाउने विषयमा प्रारम्भिक अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ।
निगमका अनुसार मंसिर ३ गतेदेखि कुनै पनि आकस्मिक वा अनिवार्य डाइभर्टको अवस्थामा विमानलाई पहिलो प्राथमिकतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै मोडिने व्यवस्था प्रभावकारी रूपमा लागू हुनेछ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार वैकल्पिक विमानस्थल घरेलु भूभागमै प्रभावकारी रूपमा उपयोग गर्न सकिने हुँदा यसले खर्च, समय र सञ्चालन व्यवस्थापनका दृष्टिले महत्वपूर्ण सुधार ल्याउने विश्वास लिइएको छ।
