काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणकी उद्घाटन खेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई पहिलोपटक रातको झलमल्ल उज्यालोमा डुबायो। फ्लड लाइटको चमकमा हजारौँ दर्शक मैदानभित्र र सीमित सिटका कारण कैयौँ दर्शक बाहिरबाटै खेल हेर्दै उत्साह व्यक्त गर्दै देखिन्थे।
उक्त ऐतिहासिक क्षण केवल दर्शकका लागि मात्र होइन, खेलाडीका लागि पनि विशेष बन्यो। जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै विजयी बनेका काठमाडौँ गोर्खाजका कप्तान करण केसीले फ्लड लाइटमा पहिलोपटक घरेलु मैदानमा खेल्न पाउँदा ‘अलगै अनुभूति’ भएको बताए।
'आजको खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लड लाइटमा खेल्दा भित्रैबाटै खुसी लागेको छ,' उनले भने, 'पहिलो खेलमै ऐतिहासिक क्षणसँगै जित हात पार्दा झनै उत्साह बढेको छ।'
केसीका अनुसार पिचले स्पिनरलाई राम्रो साथ दिएको थियो, जसको प्रभाव खेलको नतिजामा देखियो। 'स्पिनरकै योगदानमा खेल जित्न सफल भयौँ,' उनले प्रतिक्रिया दिए, 'सुरुआत सुखद् छ, आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै जानेछौँ।' उनले गत संस्करणका कमजोरी सच्याएर यसपटक उपाधि लक्ष्यसहित तयारी गरिएको बताए।
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालकै मैदानमा फ्लड लाइट अन्तर्गत खेल्न पाउँदा ‘सपना पूरा भएको’ प्रतिक्रिया दिए। 'नेपालमा फ्लड लाइटमा खेल्ने हाम्रो धेरै पुरानो चाहना थियो, त्यो पूरा भयो,' उनले भने, 'ब्याटिङमा लामो साझेदारी बनाउन नसक्दा खेल हातबाट फुत्कियो।'
साहका अनुसार पारीको सुरुआत राम्रो रहे पनि बीचक्रमले साथ नदिँदा जितको आधार बनाउन नसकिएको हो। 'लक्ष्य पनि कम थियो, त्यसैले दोस्रो पारीमा खेल फर्काउने अवस्था रहँएन,' उनले भने। आगामी खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।
पहिलो संस्करण सफल भएपछि सरकारले फ्लड लाइट जडानमा चासो देखाएको थियो। सरकारबाट रु ४२ करोड १९ लाख लागतमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान गरिएको हो। निर्माण कम्पनी ‘विशन–ईश्वरी ज्वाइन्ट भेञ्चर’का अनुसार मैदानका छवटा खम्बामा ७०–७० वटा गरी ४२० लाइट जडान गरिएका छन्।
क्यानले एनपिएलका कूल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा सञ्चालन गर्ने गरी तालिका बनाएको छ। सोमबारदेखि सुरु प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।
प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गर्दैछन्– विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स। रासस